काठमाडौं, २८ पुस । नागरिक समाजका अगुवा डा.सुन्दरमणि दीक्षितले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी डुवाएको आरोप लगाएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दैै उनले देउवाले कांग्रेसलाई भाइ कम्युनिष्ट बनाइसकेको आरोप लगाएका हुन् ।
‘कांग्रेस भनेको सर्वैसर्वा देउवा नै देखिइसक्यो । शेरबहादुर देउवाको विकल्प हुनैपर्थ्यो । उनले कांग्रेस डुवाइसके । कांग्रेसको फिलोसफी डुबाइसक्यो । कांग्रेसलाई भाइ कम्युनिष्ट बनाइसक्यो,’– उनले भने ।
साथै, देउवाको विकल्पमा शेखर कोइरालाजस्तो मान्छे आउनुपर्ने उनको भनाइ छ । शेखरलाई विमलेन्द्र निधि, प्रकाशमान सिंहलगायतले धोका दिएको उनको दाबी छ । डा.दीक्षितले अहिले आएर गगन थापाले शेखरको साथ छाड्न खोजेको उनले बताए ।
सभापति देउवाले गगनलाई उक्साएको उनको आरोप छ । कांग्रेसको सिद्धान्तमा शेखर र उनको सानो समूहमात्रै हिँडिरहेको उनको दाबी छ । डा.दीक्षितले. भने, ‘अहिले शेखरले बागडोर सम्हाल्नुपर्थ्यो । किनभने उनले मात्रै कांग्रेसको सिद्धान्त बोकेर हिँडेका छन् । उनी र उनको सानो ग्रुपले बोकेको छ । गगन थापाले पनि कांग्रेसको सिद्धान्त बोकेको जस्तो लाग्थ्यो, देउवाले किन्न खोजेको जस्तो लाग्छ मलाई । किनिन्छ कि किनिँदैन हेरौं ।’