काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लव एलिट कप क्रिकेटको फाइनलमा पुगेको छ । आज भएको तेस्रो खेलमा मधेश प्रदेशलाई ८ विकेटले हराउँदै आर्मी फाइनलमा पुगेको हो ।
मधेशले दिएको २८ रनको सामान्य लक्ष्य आर्मीले ६ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । आर्मीका लागि इमरान शेखले ८ तथा तृतराज दासले १३ रन जोडे । पवन कार्कीले ४ रन जोडेको खेलमा बसिर अहमदले ४ रन थपे ।
त्यसअघि ब्याटिङमा मधेसले दोस्रो इनिङमा सबै विकेट गुमाएर १५० रनमात्र बनाएपछि आर्मीले २८ रनको लक्ष्य पाएको हो ।
मधेबाट दोस्रो इनिङमा मयन यादवले सर्वाधिक ४९ रन बनाए । अर्धशतक बनाउन एक रनले चुकेका ८७ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । कप्तान हरिशंकर साहले २५ रन थपे । अभिषेक तिवारीले १९, निरज यादवले १७ र हिमांशु दत्तले ११ रन जोडे ।
आर्मीका बसिर अहमेदले चार विकेट लिए । २०.१ ओभर बलिङ गरेका बसिरले सात मेडन फ्याँक्दै २३ रन खर्चिए । साहब आलमले तीन विकेट लिए । आकाश चन्दले दुई विकेट हात पारे ।