Logo

दलहरू पारदर्शी, वस्तुनिष्ठ र जनताकेन्द्रित हुनुपर्छः सभामुख घिमिरे



काठमाडौँ, २८ पुस । सभामुख देवराज घिमिरेले सार्वजनिक निकायका साथै सबै राजनीतिक दलले सूचनाको हकसम्बन्धी ऐन, २०६४ को व्यावहारिक र प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय सूचना आयोगले आयोजना गरेको ‘राजनीतिक दलमा सूचनाको हकसम्बन्धी कानुनको अभ्यास’ विषयक अन्तरक्रियामा उनले सबै राजनीतिक पार्टीले लोकतन्त्रलाई बलियो बनाउन र जनताको विश्वास जित्न पारदर्शी बन्दै सो ऐनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताएका हुन् ।

‘हामीले सूचनाको हकसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, अभिसन्धि वा घोषणापत्रमा नेपाल पक्ष भएर सहमति गरेका छौँ, साथै वर्तमान संविधानमा मौलिक हकका रूपमा व्यवस्था गरी प्रत्येक नागरिकले आफूलाई चाहिएको वा सरोकार भएका सूचना माग्न पाउने अधिकारलाई सुनिश्चित गरेको छ,’– उनले भने ।

सभामुख घिमिरेले लोकतान्त्रिक संसदीय प्रणालीभित्र राजनीतिक दलहरूको भूमिका सबैभन्दा माथि रहने बताए । उनले दलहरू पारदर्शी, वस्तुनिष्ठ र जनताकेन्द्रित हुनुपर्नेमा जोड दिए । संसदीय प्रणालीभित्र दलहरूको भूमिका प्रमुख हुने बताउँदै उनले संसदीय प्रणालीलाई बलियो बनाउन सूचनाको हकलाई सबैले प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्