Logo

अनेरास्ववियुले ओली सरकारविरुद्धको घेराबन्दी र कुप्रचारको सशक्त प्रतिवाद गर्ने



काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आयोजना गरेको स्ववियु निर्वाचन केन्द्रित दुई दिने राष्ट्रिय कार्यशाला सम्पन्न भएको छ ।

तल्सीलाल प्रतिष्ठान, च्यासलमा दुई दिनसम्म चलेको कार्यशाला पूर्णरूपमा सफल भएको अध्यक्ष समिक बडालले बताए ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको कार्यशालामा देशभरिका अनेरास्ववियुका जिल्ला अध्यक्ष, पार्टीका विद्यार्थी इन्चार्जहरू, विश्वविद्यालयका स्ववियु सभापति लगायतको सहभागिता रहेको थियो ।

अनेरास्ववियुका पूर्वअध्यक्ष तथा एमालेका सचिव योगेश भट्टराई, स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल,अनेरास्ववियुका पूर्वअध्यक्षहरु हिक्मत कार्की,अरुण नेपाल, खिमलाल भट्टराई, ठाकुर गैरे, रुपनारायण श्रेष्ठ, माधव ढुङ्गेल, किशोरविक्रम मल्ल, नविना लामा, ऐन महर र सुनिता बराललगायत नेताहरूको उपस्थिति रहेको थियो ।

कार्यशालाको पहिलो दिन विभिन्न विषयवस्तु समेटेर कार्यपत्र पेश गर्नुका साथै त्यसमा छलफल गर्न भूगोल र विश्वविद्यालय क्षेत्र गरी ९ समूह विभाजन गरेर छलफल गरिएको थियो । विद्यार्थी आन्दोलनको कार्यदिशालाई बदली आजको सन्दर्भमा विद्यार्थी आन्दोलनलाई थप रचनात्मक कसरी बनाउन सकिन्छ भन्ने धेयका साथ समूहगत छलफल भएको थियो ।

कार्यशालाको दोस्रो दिन पार्टीको तर्फबाट केन्द्रीय कमिटी र पार्टीका ७ वटै प्रदेश कमिटीका विद्यार्थी इन्चार्जहरूसँग प्रदेश र जिल्लागत तहमा स्ववियु निर्वाचन केन्द्रित योजना तर्जुमा गर्न छलफल गरिएको थियो । सो छलफलका सुझावहरूका आधारमा माघ ६ गतेदेखि बस्ने केन्द्रीय कमिटीको बैठकबाट थप योजना बनाइने अनेरास्ववियुका अध्यक्ष बडालले जानकारी दिए ।

स्ववियु निर्वाचनको सन्दर्भमा र त्यसमा केन्द्रित रहेर आयोजना गरिएको कार्यशालामा अनेरास्ववियुको जित कसरी सुनिश्चित गर्न सकिन्छ र स्ववियु चुनावलाई कसरी विद्यार्थी आन्दोलनको परिभाषा बदल्ने माध्यम बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको उनले बताए ।

सामाजिक सञ्जालको दुरुपयोग गरी तथ्यहीन र भ्रामक सूचना सम्प्रेषण गरी एमाले नेतृत्वविरुद्ध घेराबन्दी गरी गरिएको कुप्रचारको प्रतिवाद गर्ने कार्यशालाले निर्णय गरेको छ ।

सत्य तथ्य सूचना सम्प्रेषण गर्ने र सामाजिक अराजकताका विरुद्ध कानुनी शासनको पक्षमा दृढताका साथ उभिएर विद्यार्थीहरूलाई संगठित गर्ने प्रतिबद्धता कार्यशालाले जाहेर गरेको छ । फागुन १५ सम्म संगठनको सबै गतिविधि क्याम्पस केन्द्रित गरी संगठनलाई देशैभरि परिचालन गर्ने गरी कार्यशाला सम्पन्न भएको अनेरास्ववियुद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्