Logo

मुकुलको पक्षमा उभिने नेतालाई कारबाही गर्दै रास्वपा, सुरुआत कोशी प्रदेशबाट



काठमाडौं । रास्वपाबाट निस्कासित महामन्त्री डा मुकुल ढकालको पक्षमा उभिने नेतामाथि कारबाही हुने भएको छ । ढकाललाई पार्टीबाट निस्कासित गरेको ५ महिनापछि दुई जना प्रदेश सभापतिले आफ्नो हस्ताक्षर फिर्ता लिएको घोषणा गरेका थिए । मुकुलको पक्षमा उभिएर हस्ताक्षर फिर्ता लिने कोशी र मधेशका प्रदेश सभापतिमाथि रास्वपाले कारबाही प्रक्रिया अघि बढाउन लागेको हो ।

गत पुस १६ गते रास्वपाका कोशी र मधेशका सभापतिहरु राजेश तिमल्सिना र तपेश्वर यादवेल हस्ताक्षर फिर्ताका लागि कार्यवाहक सभापति डीपी अर्याललाई पत्र लेखेका थिए । ‘कोर्स करेक्सन’ र ‘राइट टू रिकल’को प्रावधान सम्झाउँदै उनीहरुले गत असार यताको आफ्नो सम्पूर्ण हस्ताक्षर फिर्ता लिएको उल्लेख गरेका थिए ।

हस्ताक्षर फिर्ता लिन पत्र लेखेको दुई सातापछि रास्वपाले कोशी प्रदेश सभापति तिमल्सिनामाथि कारबाही गरेर यसको थालनी गर्ने भएको छ । आइतबार तिमल्सिनालाई कारबाही गर्न रास्वपाले कोशी प्रदेश समितिको बैठक डाकेको थियो ।

सुनसरीस्थित इटहरीको दुर्गा पार्टी प्यालेसमा बोलाइएको बैठकमा सदस्यहरू नै नआएपछि केन्द्रीय अनुशासन आयोगका अध्यक्ष भरतमणि देवकोटा त्यसै फर्किएका थिए । ६२ सदस्यीय कोशी प्रदेश समितिमा आइतबारको बैठकमा जम्मा १३ जनामात्र उपस्थित भएका थिए ।

पाँच सदस्यीय कार्यसम्पादन समितिका केबल दुई सदस्यहरू उपाध्यक्ष शरिन तामाङ र महामन्त्री लालविक्रम थापामात्रै सहभागी भएपछि उनीमाथिको कारबाही प्रक्रिया अघि बढ्न नसकेको स्रोतले जनाएको छ । कोशीपछि मधेशका सभापति यादवलाई पनि कारबाही गर्ने रास्वपाको तयारी छ ।

गत वर्षको वैशाखमा सम्पन्न प्रतिनिधि सभा उपनिर्वाचनमा इलाम २ मा लज्जास्पद हार ब्यहोरेपछि रास्वपाले मुकुललाई देश दौडाहमा पठाएको थियो । झण्डै डेड महिनालामो देश दौडाहको क्रममा मुकुल देशका ३२ भन्दा धेरै जिल्लामा पुगेका थिए । उनले ३२ जिल्लामा घुमेर पार्टीलाई प्रतिवेदन बुझाएका थिए । आफ्नो प्रतिवेदनमा रास्वपा कमजोर हुँदै गएको, कार्यशैलीप्रति जनताले चिन्ता जाहेर गरेको र यस्तै अवस्था रहे ०८४ को चुनावमा पार्टी राष्ट्रिय दल बन्न नसक्ने उल्लेख गरेका थिए ।

मुकुलले आफ्नो प्रतिवेदनमा कांग्रेस, एमाले र माओवादीको संगत छाडेर बोलन शाह, गोपी हमालहरुसँग मिल्नुपर्ने मत राखेका थिए । रत,रास्वपाले भने पार्टी हित विपरीत काम गरेको हुँदै नभएको प्रतिवेदन लेखेको भन्दै भदौंमा साधारण सदस्यसमेत नरहने गरि निस्कासीत गरेको थियो ।

यो पनि मुकुललाई पार्टीबाट गलहत्याएको ५ महिनापछि रास्वपाका दुई प्रदेश सभापतिले फिर्ता लिए हस्ताक्षर



प्रतिक्रिया दिनुहोस्