काठमाडौं, २९ पुस । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकारले माघको पहिलो हप्ता संसद् अधिवेशन आह्वान गर्ने तयारी गरिरहेको बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले माघको पहिलो हप्ता संसद् अधिवेशन आह्वान हुने र त्यसपछि संसद् चल्ने बताएका हुन् । उनले सरकार संसद्बाट नतर्सिएको र तर्सिनुपर्ने कारणपनि नरहेको बताए ।
‘माघको पहिलो हप्ताभित्रमा संसद् आह्वान हुन्छ । सरकार गृहकार्यमा जुटिसकेको छ । सरकार किन भाग्नुपर्यो ? सरकार जनताको हितमा काम गरिरहेको छ । किन तर्सिनु परेको छ ?’ प्रश्न गर्दै उनले भने ।
साथै, जनताको आवस्यकताअनुसार सरकारले अध्यादेश ल्याएको उनको दाबी छ । संसद् नचलेको बेलामा मात्रै अध्यादेश ल्याएर जनताको समस्या हल गर्न खोजिएको उनको भनाइ छ ।
‘जनतालाई आवस्यक परेका, अप्ठ्यारो परेका कुराहरु सदनबाट फुकाउँछ । सदन नचलेको बेला अध्यादेशबाट गर्छ । त्यो आवस्यकताअनुसार गर्ने कुरा हो । सरकारले अहिले जनताको हितमा अध्यादेश ल्याउने तयारी गरेको हो । त्यो पनि फेरि आवस्यकताअनुसार गर्ने कुरा हो । नगरी नहुने अत्यावस्यक कुरामा प्रक्रिया अगाडि बढाएको हो,’– उनले भने । File Photo/RN