Logo

प्रचण्डको छटपटी अझै सकिएन, एमालेको सहयोगमा चुनाव जितेका लिङ्देनपनि विरोधी भएः महासचिव पोखरेल



काठमाडौं, २९ पुस । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले सत्ता गुमाउँदाको छटपटीमा रहेको टिप्पणी गरेका छन् । आज (सोमबार) एमाले दाङ क्षेत्र नम्बर २ (ख) द्वारा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सत्ता गुमाउँदाको छटपटीमा परेर प्रचण्डले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बोलिरहेको बताएका हुन् ।

‘जनताले नपत्याएका तर शासनको टाउकोमा बस्नुपर्ने । शासन गुमेपछि सम्हालिन नसक्ने । तथानाम गाली गर्दैै हिँनुपर्ने, भ्रम सिर्जना गर्दै हिँड्नुपर्ने । आज जसरी केपी ओलीविरुद्ध पुष्पकमल दाहाल ‘प्रचण्ड’ बोलिराखेका छन्, केपी ओलीले साथ दिँदाखेरी तिनको त्यो बोली कहाँ हराएको थियो ? प्रश्न त यसरी गर्नु पर्थ्यो नि जनताले,’– उनले भने ।

त्यस्तै, हिजो ओलीले नै सरकारमा ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि एमालेको विरुद्ध देखिएको उनले बताए । राप्रपाका राजेन्द्र लिङ्देनलाई चुनाव जित्न एमालेले साथ दिएको र अहिले लिङ्देन नै एमालेको विरुद्ध लागेको उनको भनाइ छ ।

‘आज राष्ट्रिय स्वतन्त्र पार्टीका नेता, कार्यकर्ताको समग्र प्रहार केपी ओलीमाथि छ, एमालेमाथि छ । हिजो रवि लामिछानेलाई गृहमन्त्री हुनुपर्दा माग्ने ठाउँ एमाले थियो, केपी ओली हुनुहुन्थ्यो । आज केपी ओलीका विरुद्धमा प्रहार । अर्को त्यही राजेन्द्र लिङ्देनलाई चुनाव जित्न केपी ओलीको र एमालेको सहयोग चाहिने । आज प्रहारको निसाना एमाले पार्टी, केपी ओली । आज उनीहरु जे भन्दैछन्, त्यही सत्य हो भने त्यो बेला सहयोग किन मागेको ?’ प्रश्न गर्दै उनले भने ।

सरकार र एमालेविरुद्ध लगाइएको सबै आरोप भ्रमपूर्ण र आरोपका लागि आरोपमात्रै रहेको उनको भनाइ छ । उनले भने, ‘आज उनीहरु जे भन्दैछन्, त्यो सत्ता गुमाउँदाको छटपटीमात्रै हो । त्यो भ्रमपूर्ण छ । प्रमाणित अभियोग लाग्यो भने एमालेले निलम्बन गरेको छ, कारबाही गरेको छ । कसैले आरोप लगाउनेवित्तिकै हुन्छ र ? आरोप त थुप्रै कुरामा लागेको थियो । छानविन हुँदा एमालेका सबै नेताहरु आरोपबाट मुक्त छन् । एमाले सुशासनको पक्षमा भएन भने अरुले सुशासनको नारा बोक्छन् भन्ने कुरा बेकार हो । अब देश बनाउने एमालेले नै हो ।’ File Photo/RN



प्रतिक्रिया दिनुहोस्