काठमाडौं, २९ पुस । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीले गरेको काम जनतामा पुर्याउन नसकेर चुनाव हार्नु परेको बताएका छन् । आज (सोमबार) एमाले दाङ क्षेत्र नम्बर २ (ख) द्वारा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेसले राप्ती नदी र बबई नदीको पुल भजाएर तीन÷चार पटक चुनाव जितेको बताए । तर, २०७४ पछि एमालेको पहलमा बनेको १ दर्जनभन्दा बढी पुलको बारेमा एमालेले जनतामाझ भन्न नसकेको र जस लिन नसकिएको उनको गुनासो छ ।
‘सडक पुलको कुराकानी गर्नुहुन्छ भने मैले बेलाबखत भन्ने गर्छु– दाङमा धेरै चर्चामा ल्याइएको पुल भनेको चाहीँ पूर्व–पश्चिम राजमार्गलाई छोडेर भन्ने हो भने राप्ती नदीको पुल, बबई नदीको पुल । नेपाली कांग्रेसले यति भजाएर खायो कि हाम्रो नेताको कारणले गर्दा यति ठूला काम भए भनेर, मलाई लाग्छ दुई चार वटा चुनाव त उनीहरुले पुलको बखान गरेर चुनाव जित्न सफल भए ।’ उनले भने, ‘तर, आज २०७४ पछिको अवधिको कुरा गर्दैछु, राप्ती नदीमा मात्रै डबल लेनका ५ वटा पुल बने । हामीले त्यसबाट जस लिन सकेनौं । बबइमा मात्रै आधा दर्जन पुल बने हामीले जस लिन सकेनौं । प्रयाः सबै खोलाहरुमा पुल बने, तरपनि हामीले जस लिन सकेनौं ।’ File Photo/RN