Logo

रविको मुद्दामा सरकारी वकिलको बहस सकियो, जाहेरवालाको तर्फबाट त्रिपाठी र भण्डारीले बहस गर्दै



काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेविरुद्धको थुनछेक बहसमा सरकारी वकिलको तर्फबाट बहस सकिएको छ ।

न्यायाधीश माधव अधिकारीको इजलासमा भइरहेको थुनछेक बहसमा सरकारी वकिलले बहस सकेका हुन् । सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल, सहायक जिल्ला न्यायाधिवक्ता चन्द्र सन्जेल, जिल्ला न्यायाधिवक्ता सन्तोषराज कटुवाल, बिना खड्का, राधिका सुवाललगायतले बहस गरेका थिए ।

सरकारी वकिलको तर्फबाट बहस सकिएसँगै अहिले जाहेरवालाको तर्फबाट बहस भइरहेको छ । जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ताद्धय दीनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गर्नेछन् । प्रतिवादी लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ र सुशील पन्तले बहस गर्नेछन्।

त्यसपछि पुनः सरकारी वकिलले जबाफी बहस गरेपछि न्यायाधीशले आदेश गर्नेछन्। आजै दुवै पक्षको बहस र जबाफी बहस सकिएको खण्डमा न्यायाधीशले आदेश गर्नेछन्।

रविको पक्षमा बहस गर्न लागेका श्रेष्ठ र पन्त दुवै जना पूर्व महान्यायाधीवक्ता हुन् । यसअघि कास्की जिल्ला अदालतमापनि रविको पक्षमा नै उनीहरुले बहस गरेका थिए । कास्कीको सूर्यदर्शन सहकारी ठगीमा भने लामिछाने बिहीबार धरौटीमा रिहा भएका थिए । जिल्ला न्यायाधीश नीतिज राईको इजलासले रविलाई ६५ लाख धरौटीमा रिहा गरेको थियो ।

लामिछानेविरुद्ध संगठितरूपमा ठगी गरेको आरोप छ । सो प्रकरणमा रविसहित ३९ जनाविरुद्ध पुस २१ गते काठमाडौंमा मुद्दा दायर भएको थियो ।



प्रतिक्रिया दिनुहोस्