काठमाडौं । नेकपा एमालेले पूर्व सांसद बिमल कार्कीलाई कारबाही गरेको छ । कोशी प्रदेशका पूर्व सांसद रहेका उनी प्रदेश कमिटी सल्लाहकार र राष्ट्रिय प्रतिनिधि परिषद्को सदस्य छन् । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्ती केपी शर्मा ओलीको निरन्तर आलोचना र राजीनामा माग्दै आएका कार्की ६ महिनाका लागि पार्टीबाट निलम्बनमा परेका हुन् ।
पुस २७ र २८ मा बसेको एमाले कोशी प्रदेश कमिटीको बैठकले कार्कीलाई ६ महिनाका लागि निलम्बन गरेको एमालेले जनाएको छ । उनलाई मङ्सिर ६ गते स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण चित्त बुझ्दो नभएपछि ६ महिनाका लागि निलम्बन गरेको हो ।
कार्की २०७४ को प्रदेश सभा निर्वाचनमा उदयपुरको क्षेत्र नम्बर १ को १ बाट प्रदेश सांसद निर्वाचित भएका थिए । पछि उनी कोशी प्रदेशका एमाले सचेतकसमेत बने ।
केही समयअघि देखि भने उनले निरन्तर ओलीको आलोचना गर्दै आइरहेका छन् । ओलीको कार्यशैलीबारे सामाजिक सञ्जालमा टिका टिप्पणी र आलोचना गर्दै राजीनामा मागेका थिए । मीनबहादुर गुरुङबाट पार्टी कार्यालय बनाउन जग्गा दान लिएपछि उनी एमालेको नेतृत्वमाथि खनिँदै आएका थिए । सोही प्रकरणमा एमालेले स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई ६ महिनाका लागि निलम्बन गरिसकेको छ ।
एमालेबाट निलम्बनमा परेका पाण्डे र तिम्सेनाको नाम एमालेले निलम्बनको सूचीमा राखेको छ । अब कार्कीको नाम पनि त्यही राखिनेछ । एमालेले निस्कासित गरेका रावल तथा निलम्बनमा राखिएका पाण्डे र तिम्सेनाको पक्षमा कार्कीले स्टाट्स समेत लेखेका थिए ।
‘आइएम विथ भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सेना’ ह्यासट्याग राख्दै कार्कीले लेखेका थिए, ‘के स्पष्टीकरण सोध्छौं ? व्यापारीसँग जग्गा दान लिएर पार्टी भवन बनाउनु गलत हो। यस्तो कार्यले जनताप्रति उत्तरदायी राजनीतिलाई स्खलित बनाउँछ। यो कार्यले देशभरिका एमालेजनको भावनामाथि कुठाराघात मात्र भएको छैन, हुर्मत पनि लिएको छ। त्यसैले यस्तो कार्यको हामीले विरोध गरेकै हो। तिमीले स्पष्टीकरण सोधे पनि नसोधे पनि हामी यस्ता प्रवृत्ति र चरित्रको विरोध गरी नै रहन्छौं।’
तर, पछि सर्वोच्च अदालतले भवन निर्माणको काम तत्काल अघि नबढाउन भनेपछि कार्कीले ओलीको राजीनामा मागेका थिए । उनले लेखेका थिए, ‘अध्यक्षज्यू, स्पष्टीकरण हामीलाई सोध्ने कि तपाईंले अब अदालतलाई दिने जवाफ चाहियोरु नैतिकता छ भने अध्यक्ष पदबाट राजीनामा दिनुहोस् !’ यद्यपि हाल सर्वोच्चले रिट खारेज गर्दै एमालेलाई भवन निर्माणको बाटो खोलिदिईसकेको छ ।