Logo

पीएम कपमा एपीएफको लगातार दोस्रो जित, दोस्रो खेलमा पनि हार्‍यो गण्डकी



काठमाडौं । धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटमा सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) को टिमले लगातार दोस्रो जित निकालेको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको खेलमा एपीएफले गण्डकीलाई ८ विकेटले हरायो ।

गण्डकीले दिएको ७१ रनको लक्ष्य एपीएफले २ विकेट गुमाएर ९ ओभरमा पूरा गर्यो । एपीएफका लागि कप्तान इन्दू बर्माले अविजित २६ रन जोड्दा रोमा थापा १४ रनमा नटआउट रहिन् । त्यस्तै राजमति ऐरीले ८ तथा ममता चौधरीले १८ रन थपे ।

त्यसअघि खराब मौसमका कारण १५ ओभरमा झारिएको खेलमा पहिले ब्याटिङ गरेको गण्डकीले १५ ओभरमा ५ विकेट गुमाएर ७० रन जोडेको थियो ।

गण्डकीका लागि ओपनरद्धय सिर्जना पौडेलले २५ तथा स्रिया शाहीले १३ रन जोडिन् । रेखा तामाङले १७ रन जोड्दा निरुता जीटीले ५ रन थपिन् । बलिङमा एपीएफकी विनु बुढामगरले २ तथा करुणा भण्डारीले १ विकेट लिईन् ।

पहिलो खेलमा गण्डकी सुदूरपश्चिमसँग पराजित भएको थियो भने एपीएफले कर्णाली प्रदेशलाई हराएको थियो । यो खेलसहित एपीएफले लगातार दोस्रो जित निकाल्दा गण्डकी दोस्रो खेलमा पनि पराजित भयो ।



प्रतिक्रिया दिनुहोस्