काठमाडौं, २ माघ । नेपाली कांग्रेसका नेता डा.गोविन्दराज पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले काम गर्न नसकेको टिप्पणी गरेका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवाको बलियो साथ पाउँदा पनि प्रधानमन्त्री ओलीले काम गर्न नसकेको बताएका हुन् ।
बलियो सरकार बन्छ, डेलिभरी दिनसक्छ, राजनीतिक स्थिरता र नीतिगत स्थिरता हुन्छ भनेर कांग्रेसले एमालेसँग सात बुँदे सहमति गरी सरकार बनाएपनि त्यसअनुरुप काम हुन नसकेको बताए । उनले सुशासा, आर्थिक अवस्थालगायतको क्षेत्रमा वर्तमान सरकार बनेदेखि कुनै सुधार नभएको दाबी गरे । सरकारले पूर्व सहमतिअनुसारको काम गर्न नसकेको कारण कांग्रेस अहिले गम्भीर मोडमा आइपुगेको उनले बताए ।
‘हामी सात बुँदे सहमति गरेर नेकपा (एमाले) सित सरकार बनाएपछि बलियो सरकार बन्छ, यसले डेलिभरी दिनसक्छ, राजनीतिक स्थिरता भएपछि नीतिगत स्थिरता हुन्छ भनेर यो सरकार बनाएको हो । तर, त्यो अनुरुप न हामीले सुशासन प्राप्त गर्यौं ? आर्थिक अवस्था गत साल जुन अवस्थामा थियो, त्यही अवस्थामा छौं हामी ।’ उनले भने, ‘आर्थिक अवस्था पनि सुध्रिएको छैन । व्यवसायीहरु कालोसूचीमा पर्ने क्रम जारी नै छ । बैंकको खराब लोन बढ्ने क्रम जारी छ । संविधान संशोधन गर्ने कुरापनि नहुने भयो । वैदेशिक सम्बन्ध कसैसँग पनि राम्रो छैन । त्यसैले दुर्भाग्य भन्नुपर्छ, बलियो सरकार बनाएपछि देशले निकास पाउँछ भन्ने जुन उद्देश्य थियो यो अहिलेसम्म देखिएन । छ महिना भयो, समग्र संरचनामा सुधार हुनुपर्थ्यो, त्यो हामीले देखेनौं । त्यसैले अब हामी बडा जटिल मोडमा पुगेका छौं ।’
वर्तमान सरकारमा संवेदनाको कमी रहेको उनको भनाइ छ । राजधानीमै चार/चार घण्टा गुहार माग्ने मान्छेलाई पनि बचाउन नचाहेको बताउँदै उनले रुकुम, रोल्पाका मान्छेहरु चिसोमा कठ्याङ्ग्रिए भनेर सरकारले नदेख्नुलाई स्वभाविक मान्नुपर्ने बताए । जनतालाई राहत दिने, लगानी गर्ने, विकास गर्नेतिर सरकारको ध्यान नरहेको बताउँदै उनले कांग्रेस सरकारमा जानु दुर्भाग्य भएको सुनाए ।