काठमाडौं, २ माघ । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य पदम गिरीले राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश रोकेको भन्दै असन्तुष्टि जनाएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राष्ट्रपतिले चार वटा अध्यादेश प्रमाणीकरण गरेर भूमिसम्बन्धी अध्यादेश चाहीँ रोकेको भन्दै आसन्तुष्टि जनाएका हुन् ।
‘भूमिसम्बन्धी पाँच वटा ऐनहरुमा संशोधन त्यहाँ गएको थियो । चार वटा भयो, एउटा रोकिएको छ । त्यो अध्यादेश म अध्यायन गर्छु भनेर राख्नु भएको छ रे । कि त पाँच वटै अध्ययन गरेर एकैचोटी स्वीकृत गरेको भए हुन्थ्यो । राष्ट्रपतिलाई त्यस विषयमा अझ थप बुझ्नुपर्ने थियो भने सम्बन्धित मन्त्रालयको मन्त्रीज्यू, सचिवज्यू, सरकारलाई बोलाएर के हो ? कुन उद्देश्यले आएको हो ? यो आवस्यक हो कि होईन भनेर उहाँले अनौपचारिक छलफल पनि गर्न सकिन्थ्यो होला । यो रोकियो भन्ने सन्देश गयो नि, सरकारले ४४ वटा बुँदामा यति राम्रो काम गरेको छ, ऐन संशोधन गरेर ल्याएको छ । यो कुराले कता–कता खल्लो जस्तो चाहिँ निश्चित रुपमा मान्छेलाई परेको छ,’– उनले भने ।
राष्ट्रिय महत्व, राष्ट्रिय स्वाधीनता, सीमासम्बज्धी संवेदनशील विषयमा बाहेक राष्ट्रपतिलाई अध्यादेश रोक्ने अधिकार नरहेको उनले बताए । उनले भने, ‘यस्ता विषयहरुमा रोक्न मिल्दैन । कतिपय राष्ट्रिय महत्वको विषय, राष्ट्रिय स्वाधीनताका विषयहरु, सीमाका कुराहरु कतिपय संवेदनशील विषयहरु हुन्छन् । त्यस्ता विषयहरुमा के छ ? पुनर्विचार गर भनेर फर्काउन पर्ने पनि हुनसक्छ । कहिले–कहिले त्यस्ता अभ्यास पनि हुने गरेका छन् । यस्ता विषयहरुमा चाहीँ रोकेर भन्दापनि सरकारसँग बुझेर, के हो भन्ने कुरा प्रष्ट भएर यसको निर्णयमा पुग्न उपयुक्त हुन्छ ।’