काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सामेल सबै मन्त्रीलाई छलफलका लागि बोलाएको छ ।
पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग सामूहिक छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले भोलि उनीहरूलाई आफ्नो निवासमा बोलाएको देउवाको सचिवालयले जनाएको छ ।
कांग्रेस र एमालेबीच गत असार १७ मा ७ बुँदे सहमति भएर त्यसैको जगमा असार ३० गते एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त भएका थिए। सरकारमा १० मन्त्री र दुई राज्यमन्त्री गरी कांग्रेसले १२ जनालाई पठाएको छ।
सरकारका काम परिणाममुखी बनाउन कांग्रेसले मन्त्रीहरूसँग संवाद थालनी गत भदौदेखि सुरू गरेको थियो। महिनामा एक वा दुई पटक यस्ता छलफल गर्ने कार्यलाई कांग्रेसले निरन्तरता दिँदै आएको छ।
ओली नेतृत्वको सरकारमा कांग्रेसबाट उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहसहित गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, उर्जामन्त्री दीपक खड्का, खेलकुदमन्त्री तेजुलाल चौधरी, स्वास्थ्यमन्त्री प्रदीप पौडेल, पर्यटनमन्त्री बद्री पाण्डे, कानूनमन्त्री अजयकुमार चौरासिया, कृषिमन्त्री रामनाथ अधिकारी र वनमन्त्री ऐनबहादुर शाही ठकुरी तथा उर्जा राज्यमन्त्रीमा पूर्णबहादुर तामाङ र वन राज्यमन्त्रीमा रुपा विक सहभागी छन् ।