Logo

काठमाडौं महानगरले कवाड व्यवसायीमाथि गरेको व्यवहार चिन्ताजनक र दुर्भाग्यपूर्ण छः मुख्यमन्त्री सिंह



काठमाडौं, २ माघ । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले काठमाडौं महानगरपालिकाले कवाड व्यवसायीमाथि गरिरहेको व्यवहार चिन्ताजनक र दुर्भाग्यपूर्ण रहेको बताएका छन् । मुख्यमन्त्रीको कार्यालयले आज विज्ञप्ति जारी गर्दै महानगर निश्चित भूगोल, क्षेत्र र समुदायमा व्यक्तिको बहुसंख्यक सहभागिता रहेको भन्ने दुराग्रहबाट प्रेरित देखिएको बताएको हो । काठमाडौं महानगरले नागरिकबीच बिग्रह, बेमेल र असन्तुष्टि उत्पन्न गराई अनावश्यक द्वन्द्वको बीजारोपण गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘विधि तथा प्रक्रियाअनुसार सम्बन्धित सरकारी निकायमा दर्ता गरी करसमेत तिर्ने दायित्व निर्वाह गर्दै आएका कबाड व्यवसायी र यस व्यवसायमा आश्रित करिब एक लाख श्रमिकलाई रोजगारविहीन बनाउने गरी महानगरपालिकाले गरेको भनिएको सो व्यवहार चिन्ताजनक र दुर्भाग्यपूर्ण छ,’– विज्ञप्तिमा भनिएको छ ।

महानगरपालिकाले कबाड व्यवसायका कारण वातावरणमा प्रतिकूल असर परेको, आगलागीका घटना बढेको र चोरीका घटनामा वृद्धि भएकोभन्दै कवाड व्यवासाय हटाउन खोजिरहेको छ । मधेश सरकारले कवाड व्यवासायलाई हटाउने महानगरको कार्यलाई गैरकानुनी भनेको छ ।

मधेश सरकराले कबाड व्यवसायीको सम्मान, मर्यादा र जीविकोपार्जनप्रति सदाशयता प्रकट गर्दै सरल तथा सहज ढंगले व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन गृह मन्त्रालयको ध्यानाकार्षण गराएको छ ।



प्रतिक्रिया दिनुहोस्