काठमाडौं, ३ माघ । नेपाल बार एशोसिएशनले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि गालीगलौज गरी सांघातिक आक्रमण गर्नेहरुको पहिचान गरी अविलम्ब कानुनी दायरामा ल्याउन माग गरेको छ । आज (बिहीबार) विज्ञप्ति जारी गर्दै बारले उक्त घटनाप्रति सरकारको ध्यानाकार्षण गराएको हो ।
बार एशोसिएशनकी महासचिव अञ्जिता खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि गालीगलौज गरी सांघातिक आक्रमणमा संलग्न व्यक्तिहरुको पहिचान गरी अविलम्ब कानूनी दायरामा ल्याई कारवाही गर्न र कानून व्यवसायीको व्यवसायिक सुरक्षाको प्रत्याभूतिका लागि नेपाल बार एशोसिएशन नेपाल सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ ।’
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पीडितहरुको तर्फबाट बहस गरेका फर्किएका वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरमै राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता तथा समर्थकहरुले आक्रमण गरेका थिए । यसरी न्यायालय परिसरभित्रै कानुन व्यवसायीमाथि हुने यस प्रकारका घटनाले स्वतन्त्र न्यायपालिकाको उपहास हुने र पेशागत सुरक्षामाथि नै गम्भीर चुनौति देखिने बारको ठम्याइँ छ ।