Logo

सांसदहरुलाई झक्कु सुवेदीको सुझावः गैरसरकारी संस्थाको खर्चमा विदेश भ्रमण नजाऔं



काठमाडौँ, ३ माघ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायुको बहुपक्षीय कोषमा पहुँच पुर्याउन पहल गरिने बताएका छन् । राष्ट्रिय सभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिले आज आयोजना गरेको ‘विश्व जलवायु सम्मेलन (कोप २९) को समीक्षा र नेपालको आगामी कार्यदिशा’ बारेमा छलफल गर्दै मन्त्री ठकुरीले अन्तर्राष्ट्रिय जलवायु कोषबाट जलवायु बित्तमा पहुँच स्थापित गर्न पहल जारी रहने बताए ।

कोप–२९ मा हिमालका मुद्दालाई प्राथमिकता दिए पनि सोचे अनुरुपको उपलब्धी आउन नसकेको उल्लेख गर्दै उनले आगामी दिनमा निरन्तर रुपमा पर्वतीय क्षेत्रका मुद्दालाई प्राथमिकताका साथ उठान गरिने बताए ।

‘कोप–२९ मा हाम्रो सहभागिता उपलब्धिमूलक रह्यो, अझै आगामी दिनमा अर्थपूर्ण बनाउन थप गृहकार्य गर्ने छौँ,’– उनले भने, ‘स्थायी प्रकृतिको वार्ता टोली गठन गरी प्रशिक्षणको व्यवस्था गरेर आगामी ३०औँ कोपलाई थप उपलब्धिमूलक बनाउँछौँ ।’

समितिकी सभापति कमला पन्तले कोप–२९ को समीक्षा गर्दै आगामी कोपलाई प्रभावकारी बनाउने योजना बनाउन सुझाव दिईन् । सांसद डा अञ्जन शाक्यले जलवायु वित्तमा अब कसरी पहुँच स्थापित गराउने भन्नेमा नेपालको धयान पुर्याउन आवश्यक रहेकामा जोड दिईन् ।

यसैगरी सांसद तुलप्रसाद विश्वककर्माले कोपमा अर्थपूर्ण सहभागिताका लागि नेपालले थप गृहकार्य गर्न आवश्यक रहेको बताए । सांसद झक्कुप्रसाद सुवेदीले अबदेखि सांसदहरुलाई गैरसरकारी संस्थाको खर्चमा विदेश भ्रमणमा नजान सुझाव दिए ।

सांसदहरु विष्णुबहादुर विश्वकर्मा र उर्मिला अर्यालले कोपमा सहभागीहरुको भूमिका स्पष्ट गराएर मात्रै सहभागिता गराउनुपर्ने बताए । वन तथा वातावरण मन्त्रालयका सचिव डा दीपककुमार खरालले कोप–२९ मा नेपालको अर्थपूर्ण सहभागिता रहेकाले आगामी कोपमा नेपालको हितलाई ध्यानमा राखेर एजेन्डा तय गरिने बताए । file Photo/RN



प्रतिक्रिया दिनुहोस्