Logo

भीम रावलले टुंग्याए पार्टीको नाम, कर्ण थापालाई लिएर धनगढी पुग्दा कार्यकर्ताको स्वागत, ओलीविरुद्ध चर्को नाराबाजी



काठमाडौं । हालै सत्तारुढ दल नेकपा एमालेबाट निस्कासितमा परेका नेता डा भीम रावलले नयाँ पार्टी खोल्ने भएका छन् । बिहीबार उनले पार्टीको नाम र अवधारणापत्र सार्वजनिक गरेका छन् । उनको पार्टीको नाम मातृभूमि जागरण अभियान नेपाल रहनेछ ।

इमान्दार र देशभक्त नेपालीहरु तथा सबै राजनीतिक दलका सदस्य, कार्यकर्ता र नेताहरुसँग हातेमालो गर्दै उपयुक्त राष्ट्रिय राजनीतिक वैकल्पिक शक्ति निर्माणका लागि मातृभूमि जागरण अभियान, नेपाल नाम प्रस्ताव गरिएको रावलको भनाइ छ । यसमा सबै देशभक्त, लोकतान्त्रिक, न्यायप्रेमी, जनताको हित र समृद्धि चाहने समूह र व्यक्तिहरुको सहभागिता, समर्थन र सहयोगको अपेक्षा गरिएको उनले बताएका छन् ।

बिहीबारमात्र पार्टीको नाम सार्वजनिक गरेका रावल पहिलोपटक गृह प्रदेश सुदूरपश्चिमको यात्रामा निस्केका छन् । उनी शुक्रबार कैलालीको धनगढी पुगेका छन् ।

धनगढी विमानस्थलमा उनीनिकटहरूले स्वागत गरेका थिए । सो क्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चर्को नारावाजीसमेत गरेका थिए ।

काठमाडौंबाट धनगढीसम्म एमाले नेता तथा पूर्व मन्त्री कर्ण थापा र नेता रावलसँगै सिटमा बसेर पुगेका छन् । शुक्रबार बिहान उनीहरू काठमाडौंबाट धनगढी उडेका थिए ।

भ्रमणको क्रममा नेता भीम रावलले आफ्ना समर्थकहरूलाई भेटघाट गर्ने र अत्तरियामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका छ । सो कार्यक्रम सकेपछि उनी अछाम जानेछन् ।



प्रतिक्रिया दिनुहोस्