Logo

एउटै सिटमा बसेर भीम रावलसँगै कर्ण थापा धनगढी पुग्दा सुदूर एमालेमा हल्लीखल्ली



काठमाडौं । नेकपा एमालेबाट निस्कासित नेता डा भीम रावलसँग जाहजमा बसेर एमाले नेता कर्ण थापा गृह प्रदेश सुदूरपश्चिम पुगेपछि अनेक अड्कलबाजी सुरु भएको छ ।

एमालेले पार्टीबाट निष्कासित गरेपछि रावल पहिलोपटक गृह प्रदेश सुदूरपश्चिमको यात्रामा निस्केका हुन् । उनी शुक्रबार कैलालीको धनगढी पुगेका छन् ।

धनगढी विमानस्थलमा उनीनिकटहरूले स्वागत गरेका थिए । सो क्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नारावाजीसमेत गरेका थिए ।

काठमाडौंबाट धनगढीसम्म एमाले नेता कर्ण थापा र नेता रावलसँगै सिटमा बसेर पुगेका छन् । शुक्रबार बिहान उनीहरू काठमाडौंबाट धनगढी उडेका थिए ।

रावल असहले पत्रकार भेटघाटपछि गृहजिल्ला अछामको रामारोशनतर्फ प्रस्थान गरेका छन् । काठमाडौंबाट रावल र थापा श्रीएयर लाइन्सको जहाजको एउटै ‘रो’ को सिटमा बसेर प्रदेश राजधानी पुगेका थिए । एमालेले निकालेका नेतासँगै एमालेका अर्का नेता पुगेपछि एमालेमा हल्लीखल्ली मच्चिएको छ ।

थापा रावलपछि सुदूरपश्चिममा एमालेका प्रभावशाली नेता मानिन्छन् । कुनैबेला थापा रावलका कट्टर आलोचकमध्येका एक थिए । तर, अहिले सम्बन्ध सुमधुर बनेको नेताहरु दाबी गर्छन । एमालेले रावललाई निस्कासित गर्दा विरोध जनाउने कमै नेतामध्येका एक थापा रावलसँगैको यात्रालाई महत्पूर्ण ढंगले हेरिएको छ ।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका निकट मानिने थापा पछिल्ला दिनमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिन्छन् । भण्डारीलाई एमालेको राजनीतिमा फर्काउन र भावि नेतृत्वमा पुर्याउन लागिरहेको एउटा पंक्तिको सबैभन्दा अग्रभागमा थापा पर्छन् ।



प्रतिक्रिया दिनुहोस्