काठमाडौं । धनगढीमा जारी प्रधानमन्त्री कप टी-२० राष्ट्रिय प्रतियोगीतामा सुदूरपश्चिम प्रदेशले लगातार तेस्रो जित निकालेको छ । आज भएको खेलमा सुदूरले कर्णाली प्रदेशमाथि १० विकेटको जित निकालेको हो ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा खराब मौसमका कारण ५ ओभरमा झारिएको खेलमा कर्णालीले पहिलो ब्याटिङ गर्दै २१ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य सुदूरपश्चिमले विना क्षति १.३ ओभरमा पूरा गर्यो । सुदूरका लागि ओपनरद्धय कविता कुँवरले १४ तथा मनिषा बोहराले अविजित ५ रन जोडे ।
लगातारको तेस्रो जितसँगै सुदूरपश्चिम सेमिफाइनलमा पुगेको छ । समूह ए मा रहेको सुदूरले ३ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा रहेर अर्को चरणमा पुग्दा तीन खेलबाट ५ अंक जोडेको एपीएफ पनि दोस्रो चरणमा पुग्ने निश्चित भएको छ । यी दुवै टोलीले अब समान १ खेल खेल्न बाँकी छ ।
दुई टिमको अर्को चरणको यात्रा तय हुँदा कर्णालीसहित लुम्बिनी र गण्डकी भने प्रतियोगीताबाट बाहिरिएका छन् । प्रतियोगीतामा सात प्रदेश र दुई विभागीय टिम गरि ९ टोली सहभागी छन् । समूह ‘ए’ मा सुदूर, कर्णाली, एपीएफ, गण्डकी र लुम्बिनी छन् भने समूह ‘बी’ मा आर्मीसहित बागमती, कोशी र मधेश प्रदेश छन् ।