काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला टी- २० क्रिकेटमा लुम्बिनी प्रदेशले पहिलो जित निकालेको छ ।
शुक्रबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भएको खेलमा गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलो जित निकालेको हो ।
गण्डकीले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले १६.२ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो । लुम्बिनीकी सरस्वती पुन ३१ रनमा अविजित रहिन् । यस्तै, रञ्जु श्रेष्ठले २०, एन्जी पाठकले १८ रन जोड्दा श्रुति बुढाथोकी ९ रनमा अविजित रहिन् ।
गण्डकीका लागि अपेक्षा बुढाथोकीले २ विकेट लिइन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ९७ रनको योगफल तयार पारेको थियो ।
गण्डकीकी सलिना सेन ३३ रनमा अविजित रहिन् । यस्तै, रेखा तामाङले २५, धन क्षेत्रीले ८ रन बनाउँदा चन्द्रमाया बराल ७ रनमा अविजित रहिन् ।
लुम्बिनीका लागि मनिषा रानाले २ र मधु डिसीले १ विकेट लिए । जितसँगै लुम्बिनीले २ अङ्क जोडेको छ । समूह ‘ए’ मा रहेको लुम्बिनीले ३ खेलबाट ३ अङ्क जोडेको छ भने गण्डकीले ४ खेलबाट १ अङ्क जोडेको छ ।
लुम्बिनी र गण्डकी दुवै प्रतियोगीताबाट बाहिरिसकेका छन् । समूह ए मा रहेका पाँच टिममध्ये सुदूरपश्चिम शीर्ष स्थानमा रहँदै दोस्रो चरणमा पुग्दा एपीएफले पनि सेमिफाइनल खेल्ने निश्चित भइसकेका छ । गण्डकी, लुम्बिनी र कर्णाली भने समूहचरणबाटै घर फर्किने भएका छन् ।