काठमाडौं, ५ माघ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.चन्द्रकान्त भण्डारीले अध्यादेश ल्याएर सरकारले गलत गरेको बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सदन छदाछदै अध्यादेश ल्याउन नहुने बताएका हुन् । एउटा व्यक्तिबाट शासन सञ्चालित भयो भनेर राजतन्त्र फ्याँकेको स्मरण गराउँदै उनले हुकुमबाट कानुन बनाउने कुरा गलत हुने बताए ।
‘सदन छदाछदै अध्यादेश ल्याउनु भनेको गलत हो, संविधान, संसदीय व्यवस्थामाथिको अविस्वास हो । अध्यादेश ल्याउन हुँदैन । अध्यादेशबाट ल्याउनु भनेको हुकुम हो, हुकुम प्रमाणित हो । हामीले एउटा व्यक्तिबाट शासन सञ्चालित भयो भनेर राजाको अधिकार सिंहदरबारमा ल्यायौं । सिंहदरबारको अधिकार गाउँ पुर्यायौं । मुलुक सञ्चालन गर्ने जनप्रतिनिधि बनायौं भने अध्यादेशबाट ल्यान खोज्नु, सदन सञ्चालन नगर्नु अत्यन्त अप्रजातान्त्रिक कुरा हो । यो अत्यन्त गलत कुरा हो,’– उनले भने ।
प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान व्यवस्थाकै लागि लामो संघर्ष गरेको स्मरण गराउँदै उनले प्राप्त विधि र प्रक्रिया मिच्ने अधिकार कसैलाई नहुने बताए । ‘केपी ओली र शेरबहादुर जी यो संसदीय व्यवस्थाका लागि जेल बस्नुभयो, यही विधि र प्रक्रियाका निम्ति । प्रचण्डजीले हतियार उठाउनु भयो, यही विधि र प्रक्रियाका लागि । यही विधि र प्रक्रियालाई मिच्ने अधिकार कसैलाई पनि छैन । पछाडि फर्किने अधिकार कसैलाई पनि छैन । यो अत्यन्तै गलत हो । कुनै साथीहरुले भन्नुहुन्छ, यो सहमतिबाट आएको हो । सहमति गरेर विधि र प्रक्रिया मिच्न मिल्दैन,’– उनले भने ।
छिटोभन्दा छिटो विकास निर्माणका काम गर्नुपर्ने, बहुवर्षीय ठेक्काहरु सुरु गर्नुपर्ने, सडक, पुल, सिँचाइका काम गर्नुपर्ने, विश्वविद्यालय र स्कूलहरुलाई राम्रो बनाउनुपर्ने काममा लाग्नुपर्ने सरकार कामभन्दा संयन्त्रहरु बनाउने, आफ्नो–आफ्नो जिल्लामा आफूनिकट मान्छे राख्ने र आफूसित असहमत कान्छेहरुलाई कमजोर बनाउने खेलमा लागेको उनले बताए । File Photo/RN