काठमाडौं, ५ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले तत्कालै समाजवादी मोर्चासँग सहकार्यको सम्भवना नरहेको बताएका छन् । बलिदान दिवसका अवसरमा आज लहानमा सहिदको प्रतिमामा माल्यार्पणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष यादवले प्रतिपक्षी दलहरुले समाजवादी मोर्चा सक्रिय बनाउन लागे पनि आफू तत्काल सहभागी नहुने बताएका हुन् ।
अध्यक्ष यादवले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ल्याउन मधेस आन्दोलनको पनि भूमिका रहेको बताए । मधेस प्रदेश सरकारले मधेस आन्दोलनका पहिलो सहिद सिरहाका रमेश महतोको सम्झनामा प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी मोर्चालाई सक्रिय बनाउन चाहिरहेका छन् । जसपा नेपालका नेताहरुले पार्टी विभाजनमा प्रचण्डको हात रहेको दाबी गर्दै आएका छन् ।