Logo

सरकारले असफल हुनका लागि संविधान संशोधनको प्रस्ताव लाँदैनः महासचिव पोखरेल



काठमाडौं, ५ माघ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकारले असफल हुनका लागि संविधान संशोधनको प्रताव नलाने बताएका छन् । आज (शनिबार) राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च, नेपाल मानव अधिकार एलाइन्स, बागमती प्रदेश समितिद्वारा आयोजित मानवअधिकार रक्षकहरूको तेस्रो बागमती प्रदेश सम्मेलन तथा दोस्रो बागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन २०८७ सालमा हुन्छ भनी दिएको अभिव्यक्तिलाई गलत प्रचार गरिएको उनको भनाइ छ ।

प्रतिनिधि सभामा सरकारलाई दुई तिहाइ बुहमत रहेको अवस्था भएपनि संविधान संशोधनमा त्यो प्राप्त नहुन पनि सक्ने उनले बताए । राष्ट्रिय सभामा अहिले माओवादीको साथ नभइ संविधान संशोधन हुन नसक्ने उनले बताए । अहिलेको अवस्थामा माओवादी सरकारलाई सहयोग गर्न तयार नरहेकाले प्रधानमन्त्री ओलीले उक्त अभिव्यक्ति दिएको महासचिव पोखरेलले बताए ।

‘केपी शर्मा ओलीले संविधान संशोधनको विषय २०८४ पछिको विषय हो भन्नुभयो भन्ने अर्थमा सरकार के–का लागि बनाएको हो भन्ने खालका टिकाटिप्पणी भइराखेका छन् । म तपाईँहरुलाई के कुरा बताउन चाहन्छु भने यदि राजनीतिक रुपमा सहमति भयो भने तत्कालै यो विषय अगाडि बढ्नसक्छ । यदि हुन सकेन भने सरकारले आफू असफल हुनका लागि प्रस्ताव त प्रस्तुत गर्दैन । प्रतिनिधि सभामा भन्ने हो भने अहिले मोटामोटी दुई तिहाइको सम्भावना छ । तर, सबै मामिलामा दुई तिहाइ प्राप्त नहुन पनि सक्छ । राष्ट्रिय सभाको हकमा भन्ने हो भने माओवादी नजोडिइ दुई तिहाइ सम्भव छैन । माओवादी अहिले सरकारलाई सहयोग गर्ने पक्षमा छैन,’– उनले भने ।

साथै, पार्टीमा अनुशासन कायम गर्न खोज्दा एमालेमाथि चौतर्फी आक्रमण भइराखेको उनले बताए । उनले विभिन्न दलहरुले २४ घण्टे स्पष्टीकरणको आधारमा नेता तथा कार्यकर्तालाई कारबाही गरेको बताउँदै एमालेले स्पष्टीकरणको लागि आफ्ना नेता तथा कार्यकर्तालाई पर्याप्त समय दिएको बताए । एमाले र त्यसको नेतृत्व राष्ट्रिय स्वाधीनता, स्वाभिमान र जनताको मन जित्ने कुरामा अगाडि रहेकाले प्रहार भइरहेको उनले बताए ।

साथै, उनले नेपालमा धेरै राजनीतिक दलभन्दा पनि विकास र समृद्धिको नेतृत्व गर्ने बलिया राजनीक दलको तर्फ अगाडि बढ्नुपर्ने बताए । महासचिव पोखरेलले दुई दलीय व्यवस्थाको वकालत गर्दै भने, ‘नेपालमा धेरै राजनीतिक दलहरु होईन, विकास र समृद्धिका लागि नीतिगत नेतृत्व गर्न सक्ने बलिया राजनीतिक दलतर्फ अगाडि बढ्नुपर्छ ।’ File Photo/RN



प्रतिक्रिया दिनुहोस्