Logo

साधारण सदस्यसमेत नरहनेगरि पार्टीबाट गलहत्याईएका मुकुललाई रास्वपाको माया, दिए यस्तो सुझाव



काठमाडौं । पार्टीको साधारण सदस्यसमेत नरहनेगरि निस्कासितमा परेका रास्वपाका पूर्व महामन्त्री डा मुकुल ढकाल पूर्व पार्टीप्रति एकाएक नरम बनेका छन् । सभापति रवि लामिछाने सहकारी ठगीमा मुछिएर हिरासतमा पुग्दा रविको चर्कोरुपमा विरोध जनाउँदै स्टाटस लेखिरहने ढकाल रवि हिरासतमा छुटेपछि भने फेरि एकाएक नरम बन्दै गएका छन् ।

ढकालले पार्टीका इकाइहरूले गर्नुपर्ने कामबारे सुझाव दिएका छन् । सामाजिक सञ्जालमा लामो स्टाटस पोस्ट गर्दै उनले पार्टीका तल्ला तहका समितिदेखि केन्द्रीय समितिसम्मलाई उनले सुझाव दिएका छन् ।

उनले राजनीतिक कारण पार्टीको आधिकारिक च्यानलबाट सुझाव दिन नसकेको उल्लेख गर्दै सरकारले संसद अधिवेशन बोलाउने तयारी गरेकाले त्यसको तयारीमा जुट्न पार्टी नेता तथा सदस्यहरूलाई आग्रह गरेका छन् ।

ढकाल गत भदौंमा रास्वपाबाट निस्कासितमा परेका थिए । पार्टीबाट गलहत्याईएको ५ महिनापछि दुई प्रदेश सभापति ढकालको पक्षमा खुलेका थिए । कोशी प्रदेश सभापति राजेश तिमल्सिना र मधेशका सभापति तपेश्वर यादवले मुकुललाई पार्टीमा फर्काउन माग गर्दै कार्यवाहक सभापति डीपी अर्याललाई पत्र लेखेका थिए । सो पत्रपछि रास्वपाले कोशीका सभापति तिमिल्सिनालाई निलम्बित गरिसकेको छ ।

यस्तो छ मुकुलले आज सामाजिक सञ्जालमा लेखेको स्टाटस्

प्रिय रास्वपा सदस्यहरू,

पार्टी सभापति अदालती प्रक्रियामा व्यस्त रहँदा पार्टीले आफ्नो नियमित काम बिर्सिएको जस्तो आभाष भइरहेको छ । सरकारले संसदको हिउँदे अधिवेशन बोलाउने तयारी गरिरहेको छ । त्यसैले कुनै पनि बहाना नबनाइ जनताको काममा हामी फर्कनै पर्छ ।

म तपाईंहरू सबैलाई आग्रह गर्न चाहन्छु—आ-आफ्नो तह र समितिमा छलफल गर्न बैठक बोलाउनुहोस् । तपाईंको क्षेत्रका जनताको मुद्दाहरूलाई उठाउने विषयमा स्थानीय बुद्धिजीवी र जनतालाई पनि समेटेर छलफल गर्नुहोस् । त्यसपछि तयार पारिएका मुद्दाहरूलाई माथिल्लो निकाय हुँदै केन्द्रीय कार्यालयमा पठाउनुहोस् ।

केन्द्रीय कार्यालयले ती मुद्दाहरूलाई संसदीय दलमार्फत छलफल गरी संसदमा उठाउने सिस्टम पहिल्यै बनाइएको थियो । यो सिस्टमलाई पुनः जाग्रित गर्नुहोस् र संसदमा जनताको आवाज पुर्‍याउन आजैबाट पहल थाल्नुहोस् ।

राजनीतिक परिस्थितिका कारण यो आग्रह पार्टीको औपचारिक च्यानलमार्फत राख्न सकिनँ । अहिले इगोमा बसेर केही हुँदैन । देश र जनताको मुद्दामा पार्टी कसरी अघि बढ्नुपर्छ भनेर विचार मात्र राखेको छु । के उचित के अनुचित भनेर नसोची, कृपया यो विषयलाई गम्भीरतापूर्वक लिनुहोस् ।

रवि दाइ आफ्नो अदालती लडाईं आफैँ लड्न सक्षम हुनुहुन्छ । यति बेला, हाम्रो कर्तव्य भनेको पार्टीलाई जीवन्त राख्दै जनताको मुद्दा उठाउनु हो । यो जिम्मेवारी हामीले कुनै हालतमा बिर्सनु हुँदैन ।आशा छ, तपाईंहरूले मेरो यो आग्रहलाई सकारात्मक रूपमा लिँदै जनताको पक्षमा आवश्यक कदम चाल्नुहुनेछ ।
धन्यवाद ।
डा. मुकुल ढकाल



प्रतिक्रिया दिनुहोस्