काठमाडौं, ६ माघ । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री राजेन्द्र राईले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने कुरा कल्पना पनि गर्न नसकिने बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्तमान सरकार आफ्नो उद्देश्य प्राप्तिका लागि अगाडि बढिरहेको र यो संसद्को पूरै अवधि टिक्ने बताएका हुन् । वर्तमान सरकारलाई संसद्को अंक गणितको पनि कुनै समस्या नरहेको र जनताले पनि यसलाई आशा र भरोसाको रुपमा लिइरहेको नेता राईको दाबी छ ।
‘यो सरकार ढलिहाल्छ भन्ने म कल्पना पनि गर्न सक्दिनँ । निश्चित उद्देश्यलाई पूरा गर्नका निम्ति यो सरकार बनेको हो । अहिले छ महिना भयो । उद्देश्यलाई पूरा गर्नका निम्ति कामहरु लगातार रुपमा गरिरहेको छ । अंक गणितको रुपमा पनि समस्या छैन । यो सरकारले जनताको आशा र भरोसा पुरा यो सरकारले मात्रै गर्छ भन्ने जनता विश्वासमा छन्,’– प्रतिनिधि सभा सदस्यसमेत रहेका राईले भने ।
साथै, आफूहरु सत्तारुढ दल कांग्रेससँगको सहमतिबाट एक इन्च पनि पछाडि नहटेको उनले बताए । सात बुँदे सहमतिकै गाइड लाइनमा आफूहरु अगाडि बढिरहेको उनले बताए । आगामी संसद् अधिवेशनमा संविधान संशोधनको एजेण्डाले प्रवेश पाउने उनले बताए । ‘हामीले कांग्रेससँग गरेको सहमतिबाट पछाडि फर्किँदैनौं । त्यसलाई नै गाइडलाइन मानेर हामी मुलुक चलाउने प्रयत्नमा छौं,’– उनले भने ।