काठमाडौं, ६ माघ । वरिष्ठ अधिक्ता दिनेश त्रिपाठीमाथि भएको भौतिक आक्रमणप्रति आपत्ति जनाउँदै कानुन व्यवसायीहरुले विरोध जनाएका छन् । आज (आइतबार) नेपाल बार एशोसिएशनको परिसरमा कानुन व्यवसायीहरुले कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन् । वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भौतिक आक्रमण गर्नेहरुलाई हदैसम्मको कानुनी कारबाही गरिनुपर्ने उनीहरुको माग छ । कानुन व्यवसायीहरुले सरकारसँग सुरक्षाको मागसमेत गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी मुद्दामा बहस गरेर फर्किएका त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरमाथि नै आक्रमण भएको थियो । लामिछानेको विरुद्धमा बहस गरेको भन्दै रास्वपाका कार्यकर्ता तथा समर्थकहरुले वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गरेका थिए ।