काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी चलाउन नसकेर वा कमजोर भएर पार्टी एकताको प्रस्ताव नगरेको स्पष्ट पारेका छन् ।
शनिबार हेटौडामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी अहिले टुट, फुट र एकीकरणको पक्षमा नरहेको बताएका थिए । उनले अहिले सिंगो राप्रपा एकढिक्का रहेको दाबी गर्दै थापाले गरेको एकताको प्रस्ताव नकारेका थिए ।
कमल थापा नेतृत्वको राप्रपा नेपालतर्फ लक्षित गर्दै उनले कोहीसँग एकीकरण हुन भन्ने बजारको हल्लामा नलाग्न कार्यकर्तालाई आग्रह गर्दै भनेका थिए ‘राप्रपा टुट्ने, फुट्ने, एकीकरण हुने कुनै पक्षमा छैन । अहिले सिङ्गो एकीकृत राप्रपा छ,’ ।
लिङ्देनले एकिकरण नगर्ने बताएपछि उनलाई जवाफ दिँदै थापाले पार्टी कमजोर भएर एकताको प्रस्ताव नगरेको भन्दै काउन्टर जवाफ फर्काएका छन् ।
उनले सबै राष्ट्रवादी शक्ति मिलेर अन्तिम धक्का दिन प्रस्ताव गरेको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले पार्टी एकताको प्रस्ताव गरेको पार्टी चलाउन नसकेर वा कमजोर छौँ भनेर होइन।हाल विद्यमान भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउने तथा राजसंस्था र हिन्दु राष्ट्र स्थापना गर्ने अहिले सर्वाधिक अनुकूल परिस्थिति भएको हुँदा सबै राष्ट्रवादी शक्ति मिलेर अन्तिम धक्का दिऊँ भनेर हो।यो समय फेरि नआउन सक्छ ।’