Logo

वामदेवपछि झलनाथ, रामकुमारीलगायतका नेता एमालेमा फर्किने गैरेको खुलासा, एकीकृत समाजवादी रित्तिने दाबी



काठमाडौं, ७ माघ । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले पार्टीमा वामदेव गौतमलाई सम्मानित भूमिका दिइने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वामदेवले अब बाँकी जीवन एमालेमा सम्मानित नेताको भूमिकामा रहेर विताउने बताएका हुन् । एमाले निर्माणमा वामदेवको भूमिकाको कदर गर्दै उनलाई सम्मानित भूमिकामा आफूहरुले राख्न चाहेको नेता गैरेले बताए । पार्टीमा वामदेवको सम्पूर्ण क्षमताको प्रयोग हुनेगरी जिम्मेवारी दिइने उनले बताए ।

‘वामदेव गौतमको नेकपा (एमाले) को निर्माणमा, मुलुकको परिवर्तनमा निकै ठूलो भूमिका छ । एमालेमा जिम्मेवारी लिने, सक्रिय हुने हिसाबले उहाँले कुरा गर्नु भएको छ । त्यो पार्टीको, देशको र स्वयं वामदेव गौतमको पनि आवस्यकताको विषय हो । एमालेलाई सबैको खाँचो छ । एमालेले ठूलो लक्ष्य लिएको छ । ०८४ सालमा बहुमत शक्तिको पार्टी बनाउने अभियानमा हामी छौं । अहिले एमालेमा वामदेव गौतमले बाँकी जीवन सम्मानित नेताको रुपमा देश र जनताको सेवा गर्न सक्ने परिस्थिति निर्माण हुँदैछ । त्यो भूमिकाको साथ उहाँले काम गर्नुहुन्छ । वामदेव गौतमको सम्पूर्ण क्षमताको प्रयोग हुनेगरी जिम्मेवारी दिइन्छ,’– उनले भने ।

साथै, विगतमा एमालेको निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका र अहिले विभिन्न कारणले निष्कृय रहेका वा अरु राजनीतिक पार्टीमा संलग्न रहेकाहरु पनि एमालेमै फर्किने उनले दाबी गरे । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल पनि ढिलोचाँडो कुनै सन्दर्भमा एमालेमै फर्किने उनको दाबी छ । त्यस्तै समाजवादीका नेताहरु किसान श्रेष्ठ, प्रेम आले, रामकुमारी झाँक्रीलगायतका नेताहरु निकट भविष्यमै एमालेमा फर्किने नेता गैरेले दाबी गरे । ‘रामकुमारी झाँक्री पनि एमालेमै फर्किनुहुन्छ ?’ भन्ने प्रश्नमा उनले भने ‘उहाँहरु त धेरै पहिलादेखि कुराकानी गरिराख्नु भएको छ । कुराकानी हुँदैछ । सबैसँग कुरा हुँदैछ ।’

साथै, माधव नेपाललाई एमालेमा फर्काउने कुरामा अहिलेसम्म कुनै छलफल नभएको र नहुने उनको भनाइ छ । नेता गैरेले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी अब रित्तिने बाटोमा रहेको दाबी गरे । एकीकृत समाजवादी टिक्ने, त्यसले गति लिने सम्भावना नरहेको एमालेको निष्कर्ष रहेको उनले सुनाए । नेता गैरेले भने, ‘एकीकृत समाजवादी पार्टी रित्तिन्छ । त्यो पार्टी अब टिक्ने, त्यसले गति लिने सम्भावना समाप्त भयो । यो निष्कर्ष हो । नेकपा (माओवादी केन्द्र) पनि अब चल्दैन, चलाउन सक्दैन भन्ने कुरा पनि आम जनताले महसुश गरेको विषय हो । अरु अहिले जतिपनि राजनीतिक दलहरु छन्, ती दलहरु पनि अब जुन विचार, कार्यक्रम लिएर गठन भएका थिए, ती पार्टीहरु पनि अब चल्दैनन् । राष्ट्रिय स्वतन्त्र पार्टीको हुँकार समाप्त भयो । त्यहाँ भएका असल मान्छेहरुको साझा प्लेटफर्म एमाले हो ।’



प्रतिक्रिया दिनुहोस्