Logo

वामदेवलाई माओवादी नेताको सुझावः एमालेमा नगई वामपन्थी आन्दोलनलाई एकीकृत गर्ने अडानमा अगाडि बढ्नुस्



काठमाडौं, ७ माघ । नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री देवेन्द्र पौडेलले विशेष अधिवेशन आह्वानका लागि विपक्षी दलहरुले छिट्टै हस्ताक्षर बुझाउने तयारी रहेको बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकार लोकतान्तिक पद्धतिमा अगाडि नबढेकाले आफूहरुले विशेष अधिवेशन आह्वानका लागि तयारी गरिरहेको बताएका हुन् । सरकारले अध्यादेशमार्फत् शासन गरेर लोकतन्त्रको अपमान गर्न खोजेको उनले बताए । संघीय संसद्लाई नै अपमान गर्नेगरी गतिविधि सरकार पक्षका दलहरुबाट भइरहेको उनले बताए ।

‘सकेसम्म सबै प्रतिपक्षीलाई संगै लिएर जानेगरी हामीले प्रक्रिया अगाडि बढाउँछौं । आवस्यक गणित पुग्छ । सबै प्रतिपक्षीको हामी सहयोग लिन्छौं । सबैसित कुरा भएको छ,’– उनले भने, ‘सरकारको छाँटकाँट छैन । सरकारले बोलाए त ठीकै छ, बोलाएन भने प्रक्रिया पुर्याएर हामी बोलाउँछौं ।’

साथै, वामदेव गौतम नेकपा (एमाले) मा नजाँदा उपयुक्त हुने उनले बताए । नेता गौतम एमालेमा नगइ आफ्नो अडानमा अगाडि बढ्दा नेपालको वामपन्थी आन्दोलनलाई सहयोग पुग्ने उनको भनाइ छ । ‘वामदेवजीले नेपालको वामपन्थी आन्दोलनलाई एकीकृत गर्ने भनेर जुन अडान लिनुभएको थियो, अहिले पनि त्यसैमा उभिन म अनुरोध गर्न चाहन्छु । उहाँले जुन विषयमा अडान लिन खोज्नुभएको थियो, त्यसैलाई उहाँले अडान लिएर अगाडि बढ्दा नेपालको वामपन्थी आन्दोलनलाई एक ठाउँमा ल्याउन सहयोग हुनेथियो,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्