
काठमाडौं, ७ माघ । नेकपा एकता राष्ट्रिय अभियानका तत्कालीन उपाध्यक्ष महेन्द्र अर्यालले वामदेव गौतम एमालेमा एक वर्ष पनि नटिक्ने दाबी गरेका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वामदेवमा धमिलो पानीमा माछा मार्न खोज्ने प्रवृत्ति रहेको र उनको चरित्र अस्थिर रहेको बताए । काफ्लेले वामदेवलाई अरुको पौरखमा अस्तित्वको लडाइँ लड्न खोज्ने नेताको रुपमा चित्रण गरे ।
‘उहाँ एमालेमा गएपनि लेखेर राख्नुहोला, वामदेवजी एमालेभित्र गएपनि एक वर्षपछि लौ म फर्केर आएँ साथी हो भन्न बेर छैन । उहाँले अस्तित्वको लडाइ त लड्न खोज्नुहुन्छ । आफूले गरेको पौरख भन्दापनि अरुले गरेको पौरखामा धमिलो पानीमा माछा मार्ने खेल सफल हुँदैन । उहाँ अली अस्थिरत हुनुहुँदो रहेछ,’– उनले भने ।
वामदेवले चार वर्षको अवधिमा वाम एकताको नाममा सिन्को पनि नभाँचेको उनको दाबी छ । वामदेव नचाहिँदा नचाहिँदा बखेडा निकाल्ने पात्र रहेको उनले बताए । ‘चार वर्षजति भयो, उहाँले एकताको नाममा सिन्को पनि भाँच्नुभएन । एकता गर्ने त कुरा छोड्नुस् झन उहाँले न नचाहिँदा नचाहिँदा बखेडा निकालेर न माओवादीसँग हुनसक्यो, न एमालेसँग हुनसक्यो,’– उनले भने ।
वामदेव एमालेमा फर्किने निश्चित भएपछि कोशी प्रदेश इन्चार्ज ईन्द्र सुब्बा, मधेश प्रदेश इन्चार्ज हरिप्रसाद काफ्ले, कर्णाली प्रदेश इन्चार्ज डिल्लीराज भट्टराई र लुम्बिनी प्रदेश इन्चार्ज महेन्द्र अर्यालसहित बहुपक्षीय केन्द्रीय कमिटीले नेकपा एकता राष्ट्रिय अभियान छाडेको उद्घोष गरेका थिए ।