काठमाडौं । मलेसियामा जारी आईसीसी यु-१९ महिला टी-२० विश्वकपमा स्कटल्याण्डलाई नेपालले ७४ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको नेपालले १८।५ ओभरमा ७३ रनमा अलआउट भएको हो ।
नेपालका लागि कप्तान पूजा महतोले जोडेको २७ रननै सर्वाधिक रह्यो । सावित्रा धामीले १० रन थपेको खेलमा किरण कुँवर र ज्योत्सिका मरासीनीले समान ४ रन जोड्दा अतिरिक्तमा १४ रन पायो ।
नेपाललाई अलआउट गर्न स्कटल्याण्डकी माइसी मासेइराले ३.५ ओभरमा १५ रन खर्चेर ५ विकेट लिइन् । यस्तै एम्मी बाल्डी र नायमा शेखले २-२ विकेट लिए ।
विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ। यस समूहमा बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्याण्ड छन्। नेपाल पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले हारेको थियो । आजको खेल जितेमा सुपर सिक्समा पुग्ने नेपालको सम्भावना बलियो हुनेछ भने हारेमा घर फर्किने निश्चिम हुनेछ ।
विश्वकपको समूह ‘ए’ मा आयोजक मलेसियासहित भारत, श्रीलङ्का र वेस्ट इण्डिज छन् भने समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छन्। समूह ‘सी’ मा न्यूजील्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया छन्।