काठमाडौं । सरकारले हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ । गत भदौं ३० बाट अन्त्य भएको सदन ५ महिना हुँदा पनि नबोलाएको भन्दै आलोचना बढेपछि सरकारले हिउँदे अधिवेशन बोलाउने तयारी थालेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिष्द्को कार्यालय स्रोतका अनुसार माघ १८ गतेबाट हिउँदे अधिवेशन बोलाउने तयारी छ ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ।
त्यसैले सोमबार बस्ने मन्त्रिपरिषद बैठकले माघ १८ गतेदेखि प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने तयारी गरेको हो।
मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजेका लागि डाकिएको छ । यसअघि आजै बिहान प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेबीच छलफल भएको थियो । सो छलफलमा १८ गतेबाट सदन आह्वानको सिफारिस गर्नेबारे कुरा भएको स्रोतले जनाएको छ ।