Logo

जय नेपाल कपमा त्रिभुवन विश्वविद्यालयको विजयी सुरुआत, लोकेशको शानदार ब्याटिङ



काठमाडौं । ओपनर लोकेश बमको शानदार ब्याटिङप्रेरित त्रिभुवन विश्वविद्यालयले जय नेपाल कप टी-२० क्रिकेटमा विजयी सुरुआत गरेको छ ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको आयोजनामा आजबाट सुरु भएको जय नेपाल कप टी-२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन विश्वविद्यालयले बाबासाहेब भीम राव अम्बेडकर विश्वविद्यालय बिहारले ८ विकेटले हराउँदै विजयी सुरुआत गरेको हो ।

बिहारले दिएको १३५ रनको लक्ष्य त्रिविले १५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । त्रिविका लागि ओपनर लोकेशले शानदार ब्याटिङ गरे । ३६ बलको सामना गरेका उनले ८९ रनको विष्फोटर स्कोर खडा गरे । खड्क बोहराले १८ रन जोड्दा आइस भट्टराईले १७ रन थपे ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिले ब्याटिङ गरेको बिहार १७।३ ओभरमा १३४ रनमा अलआउट भयो ।

बिहारका लागि विशाल राजले ४२ तथा इमरान हस्मिले ४१ रन जोडे । त्रिविका लागि सन्तोष क्षेत्रीले सर्वात्रिक ४ तथा मुकेश ओझा र खगेन्द्र सिंहले समान ३ विकेट लिए ।

प्रतियोगितामा तीन देशका ८ विश्वविद्यालयका टोलीबीच प्रतिस्पर्धा हुँदैछ।

समूह ‘ए’ त्रिभुवन विश्वविद्यालय, ढाका विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र बाबासाहेब भीम राव अम्बेडकर विश्वविद्यालय बिहार छन्।

समूह ‘बी’ मा काठमाडौं विश्वविद्यालय, लखनऊ विश्वविद्यालय, दिल्ली विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालय छन्।



प्रतिक्रिया दिनुहोस्