Logo

साँखुमा शंखरापुर सक्व महोत्सव हुने



काठमाडौं । शंखरापुर नगरपालिकाको आयोजना तथा वडा नं ६ र ७ को संयोजनमा ‘शंखरापुर सक्व महोत्सव २०८१’ आयोजना हुने भएको छ । सांस्कृतिक रूपले लावण्यदेशका नामले सुपरिचित शंखरापुर नगरका प्रवक्ता तथा वडा नं ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठका अनुसार आउँदो माघ १६ गतेदेखि १९ गतेसम्म प्राचीन सम्पदा बस्तीमा शंखरापुर सक्व महोत्सव २०८१ हुनेछ ।

उनका अनुसार महोत्सवको मूल उद्देश्य सक्वको प्राचीन बस्ती र सम्पदाबारे जानकारी गराउनु तथा शंखरापुर नगरभित्र रहेका विभिन्न समुदायको संस्कृतिबारे प्रचार प्रसार गर्नुका साथै साँखुबारे प्रचार प्रसार गर्नु पनि रहेको छ । साँखु आजभन्दा तीन हजार वर्षभन्दा अगाडि स्थापित नगर हो ।

‘यस नगरमा रहेको शालिनदीमा हरेक वर्ष मेला लाग्दछ तर धेरैलाई प्राचीन नगर साँखुबारे जानकारी नरहेको बुझिएको हुँदा यसबारे जानकारी गराउनुका साथै शंखरापुर नगरको कृषि, पर्यटन तथा सम्पदा संस्कृतिबारे जानकारी गराउने हेतुले यो महोत्सव गर्न लागिएको हो,’–प्रवक्ता श्रेष्ठले स्पष्ट पार्दै भने, ‘शंखरापुर यस्तो नगर हो– जुन काठमाडौंका अन्य नगरभन्दा अलि पृथक् छ ।’

उपप्रमुख समिता श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत तथा नौवटै वडाअध्यक्ष सदस्य रहने गरी मूल आयोजक समिति गठन गरिएको छ– जसको उपसंयोजकमा उपप्रमुख समिता श्रेष्ठ, सदस्यसचिवमा प्रमुख प्रशासकीय अधिकृत अमृत धिताल रहेका छ । महोत्सवको मुख्य उद्देश्य स्थानीय उत्पादनलाई प्रवद्र्धन तथा स्थानीय व्यापारीको संरक्षण गर्नुका साथै प्रोत्साहन गर्ने रहेको छ ।

महोत्सवमा शंखरापुरका नौवटै वडामा रहेका धार्मिक र पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने, झाँकीसहित नगर परिक्रमा गर्ने, कृषि, व्यापार, हस्तकलाको प्रवद्र्धन गर्ने, नेवार खाजा, कासा खेल, परम्परागत गरगहना, भेषभूषाको प्रदर्शन विभिन्न समुदायको जन्मदेखि मृत्युसम्मका विभिन्न संस्कारको प्रचार, चित्रकला प्रदर्शनी, हराएका मूर्तिको जानकारी गराउने तथा परम्परागत जात्राको प्रदर्शनी गरिने पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

शंखरापुर नगरका मेयर तथा महोत्सव संयोजक रमेश नापितले सबै जनसमुदायमा महोत्सवमा सहभागी भई मनोरञ्जनका साथै यस नगरका विविध पक्षका जानकारी हासिल गर्नका लागि आह्वान गरेका छन् ।

यसै बीच क्षयरोगमुक्त नगरपालिका अभियानअन्तर्गत सो रोगको उपचारमा रहेका गरिब तथा अत्यावश्यक बिरामीको पोषणमा सुधार ल्याउनका लागि पोषण सहयोग कार्यक्रम पनि मंगलवार सम्पन्न भएको छ । शंखरापुर नगरको स्वास्थ्य शाखा आयोजक रहेको सो कार्यक्रममा नगरप्रमुख रमेश नापितको उपस्थितिमा उपप्रमुख समिता श्रेष्ठले बिरामीका अभिभावक तथा आफन्तलाई पोषण सहयोग कार्यक्रमअन्तर्गत खाद्यान्नलगायतका सामग्री वितरण गर्नुभएको थियो । सो अवसरमा उपप्रमुख श्रेष्ठले बिरामीका अभिभावक तथा आफन्तजनलाई क्षयरोगको औषधि नियमित रूपमा खान सुझाव दिएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्