काठमाडौं । प्रतिनिधि सभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सरकार आफैँ कालोबजारीको प्रतिनिधि भएको आरोप लगाएका छन् ।
बुधबार बसेको प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले सिमेन्टको भाउ बढाएर सरकार अर्बपति हुने खेलमा लागेको भन्दै आक्रोश पोखेका हुन् । उनले सरकारले भ्याटको लोभमा सिमेन्टको भाउ बढाएको आरोप लगाए ।
‘मन्त्री क्वाटर बनाउन सरकरी काम गर्न मूल्य जति बढ्यो भ्याट त्यति धेरै आउने भयो । यदि सिमेन्टको मूल्य बोराको चार सयमात्र हुँदा भ्याटबापत ५२ रुपैयाँमात्र आउँछ । तर बोरामा ६ सय बनाउँदा ७८ रुपैयाँ भ्याटमा आउने भयो । सरकार आफैं कालाबजारीको एउटा प्रतिनिधि पात्र हो । सरकारलाई मात्र राजस्व चाहिएको छ । त्यो पनि जनता मारेर’ उनले भने ।
नेता सिंहले ब्यापारीले २५ प्रतिहतमात्र सिमेन्टको उपयोग गर्ने र बाँकी ७५ प्रतिशत सर्वसाधरण जनताले उपयोग गर्ने हुँदा सिमेन्टको मूल्य बढ्दा जनता प्रत्यक्ष मारमा परेको बताए । ‘जनता मारेर सरकारलाई अर्बपति हुनपर्छ ? । जनता मारेर हामी अर्बपती हुने हो ?’ उनले भने ।