Logo

मूल्यवृद्धि स्वाभाविक मान्न सकिँदैन, सरकारले कारबाही गर्नुपर्छः योगेश भट्टराई



काठमाडौं, ९ माघ । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले निर्माण सामाग्री सिमेन्टमा भएको मूल्यवृद्धि स्वभविक मान्न नसकिने बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा उनले तीन महिनाको अवधिमा ७५ प्रतिशतसम्म मूल्य बढ्नुलाई स्वभाविक मान्न नसकिने बताए ।

तीन महिनाको अवधिमा बजारमा कुनै उलटफेर नभएको, कच्चा पदार्थको मूल्यवृद्धि नभएको र श्रमको मूल्य पनि नबढेको बताउँदै नेता भट्टराई यथास्थितिमा मूल्यवृद्धि स्वीकार गर्न नसकिने बताए । उनले सिमेन्ट उद्योगी व्यवसायीहरुलाई मूल्य समायोजन गर्न आग्रह गरे ।

‘यो दुई तीन महिनाको अवधिमा ७५ प्रतिशतसम्म पनि मूल्यवृद्धि भएको देखिन्छ । यो दुई तीन महिनाको अवधिमा बजारको अवस्था त्यस्तो उलटपुलट के भएको छ ? कि त हामीलाई बाणिज्य आपूर्ति विभागले दिनुपर्यो । यो बीचमा कच्चा पदार्थको मूल्य कति बढ्यो ? श्रमको मूल्य कति बढ्यो ? विद्युतको मूल्य, ढुवानीको मूल्य बढेको छ कि ? त्यसो हो भने वस्तुको मूल्य बढ्छ । यो हेर्दा त देखिँदैन । सरकारले पनि मुद्रास्फिर्ती करिब ५ प्रतिशतमै बसेको छ भनिरहेको छ । यो मूल्यवृद्धि स्वभाविक मान्न सकिँदैन । यसलाई तपाईँहरुले पुनर्विचार गर्नैपर्छ । यसमा प्रकारन्तरले कहीँ न कहीँ सिन्डिकेट र कार्टेलिङको प्रवृत्ति देखिन्छ,’– उनले भने ।

सरकारले अध्यादेशमार्फत ऐन संशोधन गरेसँग उद्योगीहरुले ३६५ को पीपीसी सिमेन्टको बजार मूल्य बढाएर ६७० पुर्याएका थिए । त्यस्तै, ओपीसी सिमेन्टको मूल्य ४६५ बाट बढाएर ७५० पुर्याएइएको छ ।

नेता भट्टराईले जिल्ला जिल्लामा रहेको मूल्य निर्धारणसम्बन्धी सरकारका संयन्त्रलाई सक्रिय बनाउनुपर्ने बताए । उनले उद्योगहरुको स्थलगत अवलोकन गरेर समस्या समाधान खोजिनुपर्ने बताए । उद्योगी व्यवसायीहरुले लगत गरेको पाइएमा सरकारले कडाइका साथ कारबाही गर्नुपर्ने नेता भट्टराईको माग छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्