Logo

काठमाडौं महानगरले कवाड व्यवसायीमाथि गरेको व्यवहार अत्यन्त पूर्वाग्रही, गलत र निन्दनीय छः जसपा नेपाल



काठमाडौं, ९ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालले कवाड व्यवसायीहरुको सुरक्षा र स्वतन्त्र रुपले आ–आफ्नो व्यवसाय सञ्चालन गर्न पाउने मौलिक अधिकारको प्रत्याभूति गराउन नेपाल सरकारसँग माग गरेको छ ।

आज (बुधबार) जसपा नेपालले प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिकाले कवाड व्यवसायीलाई कुटपिट, गालीगलौज, दमन, उत्पीडन र अभद्र व्यवहार गरी कवाड व्यवसायलाई रोक्न खोज्नु र लाखौं व्यक्तिहरुलाई बेरोजगार बनाउने प्रयास गर्नु अत्यन्त पूर्वाग्रही, गलत र निन्दनीय कार्य भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो ।

कवाड व्यवसायीहरु सरकारको अनुमति प्राप्त गरी तिर्नुपर्ने कर पनि नियमित रुपमा तिर्दै व्यवसाय सञ्चालन गरिरहेको अवस्थामा उनीहरुलाई धरपकड गरिनु गलत रहेको जसपा नेपालको भनाइ छ । कवाड व्यवसायीहरुले देशमा सञ्चालित उद्योगहरुलाई आवश्यक पर्ने कच्चा पदार्थ उपलब्ध गराउनुका साथै वातावरणीय सरसफाइमा समेत महत्वपूर्ण योगदान पुर्याइरहेको जसपा नेपालको ठहर छ ।



प्रतिक्रिया दिनुहोस्