Logo

अखिल (क्रान्तिकारी) को अध्यक्षमा ६ र महासचिवमा १० जनाको उम्मेदवारी, ३१२ पदका लागि ५०० जना मैदानमा (सूचीसहित)



काठमाडौं । आगामी शनिबार हुने नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्वका लागि पदाधिकारी र केन्द्रीय कमिटि सदस्यका लागि ५०० जनाले मनोनयन दर्ता गरेका छन् ।

माघ १२ गते हुने चुनावका लागि सार्वजनिक गरिएको मनोनयन दर्ताको प्रारम्भिक सूचिअनुसार ३३ पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय सदस्य, आयोगका पदाधिकारी तथा सदस्य गरी कुल ३१२ पदका लागि ५०० जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ।

अध्यक्षका लागि ६ जनाले मनोनयन दर्ता गराएका छन् । उपदेश कुमार यादव, सुदिन पौडेल, हेमन्त राई, विजय प्रकाश शर्मा सापकोटा, विश्वमणि थापा र योगेन्द्र बुढा अध्यक्षका लागि मैदानमा उत्रिएका छन् ।

त्यस्तै ९ जना उपाध्यक्षका लागि ४४ जना चुनावी मैदानमा उत्रिएका छन् । एक जना महासचिवका लागि पदमप्रसाद काफ्ले, प्रतिक कार्की, श्यामबहादुर मिजार, रोशन थापामगर, रोशन खड्का, गोबिन्द बानिया, सञ्जिब फुयाल, तिर्सना हमाल, शिव बस्नेत र सञ्जयकुमार महतो १० जना चुनावी मैदानमा छन् ।

त्यस्तै ९ जना उपमहासचिवका लागि ३८ जना चुनावी मैदानमा छन् भने १२ जना सचिवका लागि ६२ जनाको प्रतिस्पर्धा छ । कोषाध्यक्षका लागि पाँच जनाले मनोनयन दर्ता गराएका छन् ।

सर्वसम्मतीमा नेतृत्व चयन गर्ने प्रयास भएपनि सफल नभएपछि मंगलबार साँझ मनोनयन दर्ता गरिएको थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आकाक्षीलाई निवासमा बोलाएर छलफल गरेका थिए । छलफलमा सहमति नजुटेपछि नेताहरुले प्यानल नै बलाएर उम्मेदवारी दिएको बताईएको छ । यसपटक प्रचण्डले आफू तटस्थ बस्ने र कसैलाई पनि समर्थन नगरेको बताएका छन् । यद्यपि अन्तिममा प्रचण्ड र उपमहासचिव जनार्दन शर्मानिकट विद्यार्थीबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

केन्द्रीय नेतृत्वमा अखिल क्रान्तिकारीले उमेरहद लागू गरेको छ। जसअनुसार ३२ वर्षभित्रका अर्थात् २०४९ माघ ७ गतेपछि जन्मिएका प्रुतिनिधिले मात्रै केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य र आयोगका पदाधिकारी तथा सदस्यमा उम्मेदवारी दर्ता गर्न पाउनेछन्।

गत असोज १० देखि १५ गतेसम्म भएको अखिल क्रान्तिकारीको सम्मेलनमा उमेर हदको विवाद चर्किएपछि बन्द सत्र स्थगन भएको थियो।

यसलाई गत पुस १३ गते मतदानमार्फत ३२ वर्षे उमेर हद लगाउने नीति बहुमतले पास गरिएको थियो।

मनोनय दर्ता गराएका उम्मेदवारहरूको सूची हेर्न यहाँ क्लिक गर्नुहोस् ।



प्रतिक्रिया दिनुहोस्