काठमाडौं, १० माघ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कसैले घुस मागेको र खाएको देखेमा मुख फुट्नेगरी हान्ने आग्रह गरेका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले धरानभित्र कसैले घुस मागेको खण्डमा मुखमा फुट्नेगरी हान्नेलाई धरान उत्सवको दिन सम्मान गरिने बताए ।
‘प्रमाण चाहीँ हुनुपर्यो । कसैले कमिसन खान्छ, घुस खान्छ भने धरानभित्र कसैले गर्छभने त्यो रेकर्ड गर्नु । अनी मुख फुटिन्जेल कुट्नु, धरान उत्सवको दिन सम्मान गर्छु भनेको छु मैले । प्रमाण चाहीँ हुनुपर्यो । मुखैमा हान्नु भनेको छु । भ्रष्टाचार गर्न डराउनुपर्यो नि त । कसैले माग्छ भने त्यही नै गर्नु,’– उनले भने ।
साथै, मेयर साम्पाङले आफू नागरिकको बीचमा रहेर काम गरिरहेको बताए । उनले मन्त्री बनेपनि कुनै सुरक्षाविना बाइकमा हिँड्ने बताए । उनले भने, ‘म मन्त्री बनेछु भनेपनि बाइकमा हिँड्छु, एक्लै हिँड्छु । नहुने ढर्रा गरेर देश विग्रिएको । एक पैसाको शुद्धिबुद्धि छैन । हजार रुपैयाको खर्च गरेर । फजुल खर्च, नहुने ढर्रा । मलाई सुरक्षा गार्ड पनि चाहिँदैन ।’
देशमा श्रम संस्कृतिको विकास गर्न आफू लागि परेको उनले बताए । श्रम संस्कृतिको सुरुवात धरानबाट भएको मेयर साम्पाङले बताए । आफू इमानदार रहेको र कसैले हल्लाउन नसक्ने बताए । मेयर साम्पाङले आफू इमानदार रहेकै कारण प्रधानमन्त्रीसँग समेत च्यालेन्ज गर्न सकेको बताए । ‘हर्क साम्पाङ आज कोहीसँग पनि डराउँदैन । च्यालेन्ज नै गर्छु म जसलाई पनि । किनभने म इमानदार छु नि त । इमानदारिता नै मेरो शक्ति हो । इमानदार रहुन्जेल मलाई कसैले हल्लाउन सक्दैनन्,’– उनले भने । File Photo/RN