Logo

म दलको सांसद हुँ, एमालेको निर्णयबाहेक कसैले माग्दैमा पदबाट राजीनामा दिन्नँः ऋषिकेश पोखरेल



काठमाडौं, १० माघ । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले पदबाट राजीनामा नदिने बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै आफू एमालेबाट निर्वाचित जनप्रतिनिधि भएकाले दलको निर्देशनअनुृसार चल्ने बताए । सैद्धान्तिक रुपमा लेखा समितिको नेतृत्व प्रतिपक्षी दलले गर्नुपर्ने उनले बताए । तर, विगतमा सत्ता पक्षबाट लेखा समितिको नेतृत्व गर्ने अभ्यास भइसकेको उनले बताए । नेकपा (माओवादी केन्द्र) का सांसदहरुले आफ्नो राजीनामा माग्दा विगतको अभ्यास पनि बिर्सन नहुने उनको भनाइ छ ।

‘सैद्धान्तिक कुरामा मेरो विमति छैन । म बहुदलीय व्यवस्था भएको देशको नागरिक हुँ, त्यहाँको सांसद हुँ । दलको प्रतिनिधित्व गर्छु, निर्दलीय व्यवस्थाको सांसद होईन । दलले गरेको कुरा मेरो लागि स्वीकार्य छ । अहिले पनि त्यसमा टाँसिइरहनुपर्छ भन्ने मेरो चाहना छैन । दलको प्रतिनिधि हुँ, दलको निर्णय मान्छु,’– उनले भने ।

बहुदलीय व्यवस्थामा सबै सांसदहरु दलको मातहतमा रहने बताउँदै नेता पोखरेलले पार्टीले भनेको भन्दा दायाँबायाँ नहुने बताए । नेता पोखरेलले सार्वजनिक लेखा समितिमा मुलुकको बेथिति र भ्रष्टाचारको विरुद्धमा आफूले बोलेकै कारण माओवादीले हटाउन चाहिरहेको बताए ।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले सार्वजनिक लेखा समितिको सभापतिको राजीनामा माग गर्दै आएको छ । माओवादी सांसदहरुले ऋषिकेशले पदबाट राजीनामा नदिए संसद् चल्न नदिनेसमेत चेतावनी दिइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्