Logo

देउवालाई प्रचण्डको सन्देशः शशांक र चन्द्रजीसँग भनेजस्तै पाट्नरसीप हुनसक्छ



काठमाडौं, १० माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेससँग सत्ता सहकार्य हुनसक्ने बताएका छन् । आज (बिहीबार) सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले केहीदिन अघि चितवन विमानस्थलमा कांग्रेस नेताद्वय शशांक कोइराला र चन्द्रकान्त भण्डारीसँग भनेजस्तै गरी पाट्नरसीप हुनसक्ने बताएका हुन् ।

प्रचण्डले आफूहरुको चाहना सरकार ढाल्ने नरहेको पनि प्रष्ट पारे । कांग्रेस–एमालेभित्र अहिले उकुसमुकुसको अवस्था रहेको बताउँदै उनले केहीगरी यो सरकार ढलिहालेको खण्डमा कांग्रेससँग सत्ता सहकार्य हुने बताएका हुन् । ‘यो सरकार चलिराखेको त छैन । जबरजस्ती गरिएको छ । तर, हामीफेरि सरकार ढाल्नका लागि सक्रिय भूमिकामा छैन । विपक्षीकै भूमिकामा हामीलाई ठीक छ । तर, शशांक र चन्द्रजीसँग भनेजस्तै पाट्नरसीप हुनसक्छ,’– सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने ।

साथै, चितवनको भरतपुर विमानस्थलमा कांग्रेस नेताद्वय कोइराला र भण्डारीसँगको भेट पूर्व निर्धारित नभएर संयोगमात्रै रहेको पनि उनले बताए । अध्यक्ष प्रचण्डले भने, ‘शशांक कोइराला र चन्द्र भण्डारीजी दुई जना एयरपोर्टमा भेट हुनुभयो । पत्रकार साथीहरुले सोध्नुभयो–तपाईँहरुको भेटघाट भयो, तपाईँहरुको थोरै कुरा राख्नुपर्यो भनेपछि मैले सरकारप्रति हाम्रो अहिले कुनै अभिरुची छैन । यो सरकार कति जानुपर्ने जाओस् । हामीलाई अहिले सरकारतिर होईन, हामी अहिले जनतातिरै छौं । जनताको बीचमा गइराखेका छौं भनेको थिएँ । होइन केही भइहाल्यो भने के गर्नुहुन्छ भनेर सोधेपछि मैले –त्यसो हो भने त पाट्नर हुँदैहुनुहुन्छ नि नेपाली कांग्रेस भने । शशांकजीले पनि राजनीति हो, जेपनि हुनसक्छ भन्दिनुभयो । संयोगले त्यस्तो भएको मात्रै हो । कुनै योजनावद्ध ढंगले भएको होईन ।’

वर्तमान सरकार जन्मिँदै अप्राकृतिक र अवैध ढंगले जन्मिएको दाबी गर्दै प्रचण्डले धेरै लामो समय नजानेमा आफू ढुक्क रहेको पनि बताए । ‘जन्मदै यो जसरी जन्मिएको छ नि, अवैध ढंगले जन्मिएको र अप्राकृतिक ढंगले जन्मिएको हुनाले धेरै जाँदैन भन्ने सुरुदेखि नै थाहा थियो, जाँदैन पनि । हाम्रो रुचि फेरि सरकारतिर छैन । यो सरकार धेरै जानेवाला सरकार चाहीँ होईन । किनभने यो लोकतान्त्रिक मान्यताविपरीत पनि छ । संविधान विपरीत पनि छ र जनताको भावनाविपरीत पनि छ ।’ प्रचण्डले भने, ‘त्यसकारण यो धेरै जाँदैन भनेर मैले सुरुदेखि भनिराखेको छु । अहिलेपनि देखिराख्नुभएको छ, तपाईँहरुले नेपाली कांग्रेसका धेरै नेता सार्वजनिक रुपमा बोलिराख्नु भएको छ । प्रधानमन्त्रीजीकै पार्टीमा पनि निकै ठूलो उकुसमुकुस भएको कुरा सार्वजनिक रुपमा बाहिर आइराखेकै छ । कारबाहीको प्रक्रिया पनि चलिराखेकै छ ।’



प्रतिक्रिया दिनुहोस्