काठमाडौं, १० माघ । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले रित्तो गाग्री लिएर आएको देखेर प्रधानमन्त्री केपी शर्मा ओली रिसाएको बताएका छन् । संघीय सरकारले धराने जनतालाई खानेपानीको व्यवस्थापन गर्न कुनै पनि सहयोग नगरेको भन्दै उनले सांकेतिक विरोधका लागि धरानदेखि नै रित्तो गाग्री लिएर काठमाडौं आइपुगेका थिए ।
सिंहदरबार छिर्न लागेका साम्पाङलाई प्रहरीले रोकेर गाग्री भने जफत गरेको थियो । उनले खानेपानी मन्त्री प्रदीप यादव र अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेर धरानको खानेपानी समस्याबारे आफ्ना कुरा राखे । धेरै प्रयास गरेपनि उनलाई प्रधानमन्त्री ओलीले भेट दिएनन् । आफूले रित्तो गाग्री लिएर आएको थाहा पाएकाले प्रधानमन्त्री रिसाएको हुनसक्ने साम्पाङ बताउँछन् ।
‘प्रधानमन्त्री रिसाउनु भयो । ग्रागी लिएर आएकाले । आश्वासन धेरै भयो । अब एक्सनमा जाऔं भन्ने हो । म चाहीँ एक्सन ओरिएन्टेड मान्छे हो । एक्सनमात्रैले हुँदैन, रिजल्ट आउनु पर्छ । रिजल्टमात्रै आएर हुँदैन, त्यो जनतालाई अनुभूत हुनुपर्छ,’– उनले भने ।
यद्यपि धरानमा अहिले खानेपानीको कुनै समस्या नरहेको उनले बताए । आफूले श्रमदानमार्फत् ल्याएको पानीले धराने जनतालाई पुगिरहेको साम्पाङको दाबी छ । आफू मेयरबाट हट्दैगर्दा पनि ५०औं वर्षलाई खानेपानीको समस्या नहोस् भनेर संघीय सरकारसँग योजना माग गरेको उनले सुनाए ।