Logo

दिन गनेर बस्ने होईन, सरकार परिणाममुखी काम गर्न चाहन्छः उपप्रधानमन्त्री पौडेल



काठमाडौं, १० माघ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले परिणाममुखी काम गर्न चाहेको बताएका छन् । राष्ट्रिय बाणिज्य बैंकको वार्षिकोत्सवको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले जनतालाई सेवा प्रवाह र सुशासनको पक्षमा काम गर्नकै लागि सरकारले अध्यादेशबाट ऐन संशोधन गरेको बताएका हुन् ।

उपप्रधानमन्त्री पौडेलले संसद् खुलेको पहिलो दिन नै अध्यादेशहरु संसद्मा पेश हुनेपनि बताए । उनले भने, ‘सरकार सरकारको रुपमा दिन गनेर बस्ने होईन, परिणाममुखी ढंगले काम गर्न चाहन्छ भन्ने कुरा सरकारका पछिल्ला काम, कारबाही र निर्णयहरुले पनि जनाइरहेको छ । हामीले यसबीचमा २९ वटा ऐनहरुमा अध्यादेशका माध्यमबाट संशोधन गरेका छौं । ती अध्यादेशहरु सदन सुरुभएको पहिलो दिननै सदनसमक्ष प्रस्तुत हुँदैछन् ।’

अध्यादेशबाट कानुन संशोधन गरेर सरकारले गुणस्तरीय सेवा प्रवाह र सुशानको क्षेत्रमा उल्लेख्य प्रगति गर्न चाहेको उनले सुनाए । विदेशी लगानी अभिवृद्धि, रोजगारी सिर्जनालगायतका क्षेत्रमा काम गर्न अध्यादेशबाट कानुन संशोधन गरिएको उनले बताए । सरकार तीब्र गतिमा अगाडि बढिरहेको मन्त्री पौडेलको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्