काठमाडौं । कवाड व्यवसायी समाज नेपालले शान्ति, सुरक्षाको माग गर्दै गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएका छन् । शान्तिपूर्ण रुपमा आफ्नो पेशा व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै गृहमन्त्री लेखकलाई ज्ञापनपत्र बुझाएका हुन् ।
आज गृहमन्त्री लेखकलाई ज्ञापनपत्र बुझाउदै उनीहरुले कानून विपरित काठमाडौं महानगरपालिकाले गरिरहेको तोफोड, धरपकड तथा मनोमानी काम अन्त्य गर्नुपर्ने माग गरेका छन् ।
कवाड व्यवसायी समाजका अध्यक्ष रामकेवल गुप्ताको नेतृत्वमा कवाड व्यवसायीले ज्ञापनपत्र बुझाउदै आफूहरुलाई पेशाव्यवसायबाट धपाउन खोजिएको बताउदै सरकारको तर्फबाट शान्ति, सुरक्षाको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । गृहमन्त्री लेखकले आफूले शान्ति, सुरक्षाको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘काठमाडौं महानगरले वातावरण फोहर गरेको, आगलागी घटना बढाएको, चोरीको घटना बढाएको जस्ता आरोप लगाएर कवाडमा व्यापक तोडफोड गरेको उनीहरुको आरोप छ। कवाड व्यवसायीका समान जफत गरेको, व्यवसायीलाई गालीगलौज कुटपिट र अभद्र व्यवहार गरेको गृहमन्त्री लेखकलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
काठमाडौं महानगरपालिकाले कानून विपरित आफूहरुलाई दुख दिने, तोडफोड गर्ने र व्यवसायबाट धपाउँन खोजेको अध्यक्ष गुप्ताले जनाएका छन् । यस अघि समितिले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई समेत ज्ञापनपत्र बुझाउदै शान्ति, सुरक्षाको माग गरेको थियो ।
काठमाडौं महानगरपालिकाले पछिल्लो समयमा कानून विपरित कवाड व्यवसायीलाई दुख दिने र अराजक गतिविधि गर्दै डोजरले घर पनि भत्काउने गरेकाले उनीहरुले शान्ति सुरक्षाको माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।
कानून विपरित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कवाड व्यवसायीलाई निरन्तर दुख दिएपछि सुरुमा आम जनता पार्टीले कवाड व्यवसायीलाई साथ दिएको थियो । आजपाले काठमाडौंमा महानगरको विरुद्धमा पटक पटक आन्दोलन समेत गर्दै आएको छ । आजपा अध्यक्ष प्रभु साहले कवाड व्यवसायीकोमा महानगरको डोजर चल्यो भने अब काठमाडौं महानगरमा ‘प्रभु साहको डोजर चल्ने’ चेतावनी दिएका थिए । त्यस यता महानगर र मेयर बालेनको गलत कार्यशैलीका विरुद्ध कवाड व्यवसायीको आन्दोलनमा आजपाले निरन्तर साथ र सहयोग गर्दै आएको छ ।
अन्य दलहरुको समेत समर्थन कवाड व्यवसायीले जुटाउदै छन् । सोही क्रममा गत मंगलबार कवाड व्यवसायीले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई ज्ञापनपत्र बुझाउदै शान्ति, सुरक्षाका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
जसपाले कवाड व्यवसायीमाथि भइरहेको गतिविधिप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । जसपाले बुधबार विज्ञप्ति जारी गर्दै कवाड व्यवसायीलाई काठमाडौँ महानगरपालिकाले भौतिक संरचनाको तोडफोड र व्यवसायीलाई धरपकड गर्नु निन्दनीय कार्य रहेको भन्दै यस्ता कार्य बन्द गरी व्यवसायिक सुरक्षाको वातावरण बनाउन सरकारसँग माग गरेको छ ।
‘महानगरले कवाड व्यवसायीलाई गालीगलौज र अभद्र व्यवहार गरी कवाड व्यवसायलाई रोक्न खोज्नु अत्यन्त गलत र नियन्दनीय कार्य भएकोले यस्ता कार्यलाई यथाशीघ्र बन्द गरी कवाड व्यवसायीहरुको सुरक्षाका साथै स्वतन्त्र रुपले आ–आफ्नो व्यवसाय सञ्चालन गर्न पाउने भौतिक अधिकारको प्रत्याभूति गराउन जसपा सरकारसँग माग गर्दछ’, जसपा प्रवक्ता मनिषकुमार सुमनद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।