काठमाडौं । ‘नेपाली कांग्रेसको पनि लिस्ट निकाल्ने हो भने धेरैजनाको छ सभापतिज्यू, कसले कति जनासँग विवाह गरेका छन् भनेर । त्यो सूची सार्वजनिक गरिदिन सक्छौं’ यी आक्रोशपूर्ण चेतावनी हो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायतको । बुधबार बसेको प्रतिनिधि सभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा उनले बालेको यी शव्दहरु यतिबेला सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
समितिले गत पुस १९ गते दाङ, प्यूठान जिल्लाको गुठी जग्गामा बसोबास गर्ने पीडित किसानहरूको समस्याका सम्बन्धमा गुठीयार र गुठीसँग सम्बन्धित किसानसँग छलफल र अन्तर्क्रिया गर्ने कार्यक्रमका लागि समितिमा रहेका ७ जना सांससहितको टोलीलाई पोखरामा लगेको थियो ।
सोही कार्यक्रममा पुगेका सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसका सांसदहरुले रक्सी खाएर रास्वपाका नेताहरुको कुरा काटेको भन्दै कठायतले आक्रोश पोखेकी हुन् । सो कार्यक्रमका लागि सुरुमा रास्वपाबाट अशोक चौधरी छानिएका थिए । तर,उनले नभ्याएपछि उनको ठाउँमा कठायत गएकी थिईन् ।
रास्वपा सांसद कठायतसहित सो कार्यक्रममा समिति सभापति कुसुमदेवी थापा तथा कांग्रेसकै अर्का सांसद बीरबहादुर बयायर तथा एमालेबाट सरस्वी सुब्बा र सूर्यप्रसाद ढकाल,राप्रपाकी अनिशा नेपाली र माओवादी केन्द्रकी रुपा सोसी चौधरी लगायत सहभागी थिए । सो कार्यक्रममा सांसदहरूलाई बस्ने व्यवस्था भने विश्व वन्यजन्तु कोषले ल्याण्डमार्क होटलमा मिलाइदिएको थियो। तर खाना भने अर्कै होटलमा खाएको बताईएको छ ।
कठायत खाना खान जाँदा त्यसअिघ नै रक्सीले मातिएर बसेका कांग्रेस सांसद बलायर र एमाले सांसद सुब्बाले रास्वपाका नेताहरुको कुरा काटेको कठायतको आरोप छ । आफ्नो मुख्य काम गर्नभन्दा रक्सी सेवन गरी रास्वपाका नेताका व्यक्तिगत विषयमा चर्चा गरेको भन्दै बुधबारको बैठकमा कठायत कड्किएकी थिईन् ।
उनका अनुसार सांसद बलायरले रास्वपा पार्टीनै ठगको पार्टी भन्दै कुरा गरेको र त्यसमा एमाले सांसद सुब्बाले साथ दिएकी थिईन् । कांग्रेस सांसदलाई उक्साउँदै एमाले सांसद सुब्बाले सुमनाको औकात के हो, केपी ओलीसँग दाँज्ने, यसलाई देश निकाला गर्नुपर्छ, त्यो सोविताको औकात के हो, केपी ओली र शेरबहादुर देउवासँग दाँज्ने यिनीहरूको औकात छ भन्दै चर्किएकी थिईन् । त्यसमा कठायतले प्रतिवाद गरेको बताईन्छ ।
उनले पोखरामा आफ्नो पार्टीका सभापति रवि लामिछाने, सांसदद्वय सुमना श्रेष्ठ र सोबिता गौतमको के कस्ता कुरा काटिए भनेर सुनाइन् । तर,समिति सभापति थापाले ‘तपाईका कुरा छैनन् ? भन्दै प्रश्न गरेपछि सांसद कठायत झनै चर्किएकी थिईन् । ‘सभापतिज्यू, मैले अब भन्नैपर्ने भएको हो त्यसो भए ? कुन हालतमा के स्थितिमा तपाईंहरूले के बोल्नुभएको थियो भनेर ?’ उनले सोधिन् ।
यस्तो छ समितिमा सांसद कठायतले राखेका आक्रोशपूर्ण अभिव्यक्तिका केही अंश
रक्सी खाएर तपाईंहरुले जे पायो त्यही बोल्न मिल्छ ? ह्यारेसमेन्ट गर्ने ? । सुमना श्रेष्ठले कति जनासँग बिबाह गर्छ । त्यो तपाईहरुको सरोकारको कुरा हो ? । उहाँहरुलाई देश निकाला गर्ने भनेर तपाईहरुले भन्न मिल्छ ? मलाई पेल्न खोज्ने ? । तपाईहरुले बोलेको एक एक कुरा छ यहाँनिर सभापति ज्यू ।
सभापतिज्यू, मैले अब भन्नैपर्ने भएको हो त्यसो भए ? कुन हालतमा के स्थितिमा तपाईंहरूले के बोल्नुभएको थियो भनेर ? सुमनाले कतिजनासँग बिहे गर्यो भन्ने तपाईंहरूको सरोकारको विषय हो त्यहाँ ?’ सोबिताको कल्ले के बोल्यो भन्ने कुरा तपाईंहरूको सरोकारको कुरा हो त्यहाँ ?’
राष्ट्रिय स्वतन्त्र पार्टीले के गर्छ भन्ने तपाईंहरूको सरोकारको विषय हो ? तपाईंले मलाई पेल्न खोज्ने ? त्यहाँनेर ड्रिङ्क्स गरेर, रक्सी खाएर तपाईंहरूले जे पायो त्यही बोल्न मिल्छ ? सुमना श्रेष्ठले कतिजनासँग बिहे गर्यो तपाईंहरूको सरोकारको विषय थियो ? तपाईंहरूले निर्णय गर्नुहुन्छ उहाँहरूलाई देश निकाला गर्ने भनेर ! के गरेको छ त्यस्तो देश निकाला गर्नलाई ?
तपाईंहरूले बोलेको एक/एक कुरा छ यहाँनेर सभापति ज्यु । यो समितिको अनुगमनको कुरा हो । मैले राम्रोसँग मर्यादित भएर तपाईंलाई भन्न खोजेको थिएँ त्यो भएन भनेर । तपाईं मलाई पेल्न खोज्दै हुनुहुन्छ सभापति ज्यु । समितिको अनुगमनमा भएको कुरा समितिमै भन्न पाउनुपर्छ, तपाईंले सुन्नु पनि पर्छ । तपाईं स्वयं त्यहाँ हुनुहुन्थ्यो सभापतिज्यू । तपाईंको मुखबाट समेत दुई तीनवटा कुरा निस्केका छन् ।’
रवि लामिछानेले कोसँग विवाह गर्यो, के विवाह गर्यो ? ह्यारेसमेन्ट गर्ने त्यहाँनेर ? तपाईं त नेपाल सरकारको मन्त्रिपरिषद्ले गरेको निर्णयलाई पनि समितिले उल्ट्याउनुपर्छ भन्ने मान्छे हो । तपाईंको आफ्नो कार्यक्षेत्र त कति हो भन्ने स्पष्ट पार्न सक्नुहुन्न अनि जे पायो त्यही बोल्नुहुन्छ यहाँ ? मैले जे पायो त्यही बोलेँ सभापतिज्यू ? ।
तपाईंहरू एनजिओको पैसामा अनुगमनमा गएर त्यहाँ भएको कुरा रााख्नु जे पायो त्यही हो ? मैले जे पायो त्यही बोलेकी छु यहाँ ? दिनभरी भएको कुराबारे छलफल गर्नुपर्थ्यो । कसरी समस्यालाई समाधान गर्ने भन्नेतिर लाग्नुपर्थ्यो । तर, कसले कहाँ बिहे गर्यो, के गर्यो भनेर कुरा गर्ने हो ?