काठमाडौं, माघ ११ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने आज पनि अदालतमा उपस्थित भएका छन् । बिहीबार रुपन्देही जिल्ला अदालतमा लामिछाने विरुद्धको थुनछेक मुद्दामा बहस भइरहेको छ । बिहीबार बहस नकिएपछि उनलाई परिवारको जिम्मा लगाईएको थियो ।
रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लाद कुमार योगीको इजलासमा रविको थुनछेक बहस चलिरहेको छ । सहकारीपीडितको तर्फबाट आज दुई जना कानून व्यवसायीले बहस गर्नेछन् । रविको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, सुशील पन्त, सुरेन्द्र थापा, पशुपति भण्डारी तथा अधिवक्ताहरू डा.नारायणदत कंडेल, सुरज बस्नेत, सुनिता रावल, राजेन्द्र सेढाईलगायतले बहस गर्ने तयारी छ ।
सो सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।
उनी यसअघि कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटी बुझाएर छुटेका हुन । बुटवल पछि उनले चितवन र पर्सा पनि अदालतमा बयान दिन जान बाँकी नै छ । ती जिल्लावाट पनि पक्राउ पुर्जी जारी गरे पछि चितवन र पर्सा दुवैमा सरकारी वकिलसमक्ष बयान दिइसकेका छन ।