काठमाडौं, ११ माघ । जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले केही साझा विषयमा मधेशी दलहरु एक ठाउँमा उभिनका लागि लुज अलाइन्स बन्ने बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले मधेशवादी दलहरुको लुज अलाइन्सका लागि आफूले अभ्यास गरिरहेको र निकट भविष्यमै बन्ने बताएका हुन् । संविधान संशोधनलगायतका विषयमा मधेशवादी दलहरुले लुज अलायन्स बनाएर साझा धारणा ल्याउने प्रयास गरिरहेका छन् । उनले भने, ‘मलाई विश्वास छ, अलिकति समय लाग्ला लुज अलाइन्स बन्नका लागि । अलिकति काम गर्दै जाँदा मोर्चासम्मै पुग्छ होला कि ? लुज अलाइन्स बन्ने सम्भावना बढेर गएको छ ।’
साथै, उनले वर्तमान सत्ता गठबन्धन टुटफुटको अहिले सम्भावना नरहेको उनले बताए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको कार्याकालमा संसद् र संसदीय समितिहरु प्रभावहीन भएर गएको बताए । प्रधानमन्त्री ओलीले अध्यादेशमा बढी विश्वास गर्ने गरेको उनले टिप्पणी गरे । हप्ता÷दश दिनमा संसद् बोलाउने तयारी भएको बेला जादु नै गर्ने गरी अध्यादेशबाट कानुन संशोधन गर्नु गलत रहेको उनको भनाइ छ । ‘सरकार ढल्ने सम्भावना मैले देखेको छैन । यो संसदीय प्रणालीमा संख्याले निर्धारण गर्छ । तर भयो के भने अहिले संसद् प्रभावहीन भएर गएको छ । संसदीय समितिहरु प्रभावहीन भएर गएका छन् । संसदीय प्रणालीको आत्मा भनेको संसद हो । त्यो प्रभावहीन भएर गयो भने धेरै आशा गर्ने ठाउँ हुँदैन,’– उनले भने ।
प्रधानमन्त्री ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेश भ्रष्टाचारलाई बढवा दिने खालका रहेको दाबी गरे । उनले भूमिसम्बन्धी अध्यादेश र अध्यादेशबाट कालाबजारी ऐन संशोधन गरिनु गलत रहेको उनले बताए । ‘कतिपय अध्यादेश यस्ता छन्, जो कि भ्रष्टाचार, अनियमिततालाई नै बढवा दिने खालका छन् । भूमिसम्बन्धी अध्यादेश भयो, २० प्रतिशतभन्दा बढी नाफा कमाउने, यसले केहीलाई मात्रै पोस्छ कि भन्ने आशंका छ,’– उनले भने ।