काठमाडौं, ११ माघ । जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री (कार्यकारिणी) र निगरानी र अनुगमन गर्ने भूमिका (सार्वजनिक लेखा समिति) एउटै दलको नेतृत्वमा हुन नसक्ने बताएका हुन् ।
‘उहाँ बस्नै हुन्न । सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षलाई दिने चलन नै हो । यसको सिद्धान्त के हो भने बजेट कार्यकारीले ल्याउँछ । व्यवस्थापिका संसद्ले पारित गर्छ । बजेट खर्चको महालेखा परीक्षकले अडिट गर्छ । त्यसको निगरानी र अनुगमन संसद्को तर्फबाट लेखा समितिले गर्छ । कार्यकारिणी जसको हो, सार्वजनिक लेखा समिति उसैको भएपछि उसले बचाउँछ कि भनेर एउटा अनुमान गरिन्छ । त्यो गर्न नदिनका लागि उहाँ बसिराख्न हुन्न,’– उनले भने ।
पोखरेल व्यक्तिगत रुपमा पनि विवादमा तानिएको बताउँदै उनले राजीनामा दिन सुझाव दिए । लेखा समितिका पूर्व सभापतिसमेत रहेका नेता त्रिपाठीले पोखरेलकै कारण अहिले सार्वजनिक लेखा समिति निस्तेज बनेको टिप्पणी गरे । ‘फेरि उहाँ पर्सनल पनि विवादित हुनुभयो । उहाँका अलिकति इस्यूहरु आए । स्वकीय सचिव, अरुअरु लगायतका कुराहरुमा, उहाँ किन बसिराख्नु भएको छ ? मैले बुझिराखेको छैन । लेखा समितिजस्तो महत्वपूर्ण संसदीय समिति अहिले निस्तेज भएर गएको छ । उहाँले राजीनामा दिएर प्रतिपक्षलाई दिनुपर्छ,’– उनले भने ।