Logo

कांग्रेसलाई धेरै दिन एमाले बोक्न सकिँदैन भन्ने लागिसकेको छ, सरकार छिट्टै ढल्छः माओवादी नेता आचार्य



काठमाडौं, ११ माघ । नेकपा (माओवादी केन्द्र) का नेता रामदीप आचार्यले नेपाली कांग्रेसका नेताहरु अब एमालेको भारी बोक्न सकिँदैन भन्ने ठाउँमा पुगेको बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सत्ता गठबन्धनभित्र चरम असन्तुष्टि बढ्दै गएको र निकट भविष्यमै यो सरकार ढल्ने बताएका हुन् ।

त्यस्तै, प्रतिपक्षी दलहरुले पनि एकमत बनाउँदै गएको र यसमा जनताको आवाज पनि मुखरित भएको अवस्थामा यो सरकार धेरै दिन टिक्नै नसक्ने उनले बताए । ‘सत्ताधारी गठबन्धनभित्र चरम असन्तुष्टि छ । कांग्रेसका साथीहरुलाई लागेको छ, अब यो भारी धेरै दिन बोक्न सकिँदैन भन्ने । प्रतिपक्षहरु एक मत हुँदैछन् । त्यसमा जनताको आवाज मुखरित हुँदैछ,’– उनले भने ।

सरकारले देश र जनताको पक्षमा कुनै गतिलो काम गर्न नसकेको उनले बताए । अहिले सरकारको चौतर्फी आलोचना भइरहेको नेता आचार्यले बताए । नेता आचार्यले सरकारले आफ्नो आसेपासे र कार्यकर्ता पोस्न अध्यादेशमार्फत ऐन संशोधन गरेको टिप्पणी गरे । ‘यो सरकारले गतिलो काम गरे पो टिक्नु त । यो सरकारले गतिलो काम गरेको छैन । चौतर्फी रुपमा आलोचना भइरहेको छ, गाली गरिरहेका छन् । एक महिनाभित्रमा सिमेन्टको भाउ कहाँ पुग्यो ? कसलाई पोस्नका निम्ति गरिँदै छ । सरकारी जग्गा हडपेर आफ्ना निश्चित आपेपासेलाई बाड्नका निम्ति अध्यादेश ल्याइएको छ । सुकुम्बासीको नाम गरेर भजाएर खानका निम्ति, हिजोको भ्रष्टाचारका काण्डलाई ढाकछोप गर्नका निम्ति जुन ढंगले सरकार लागिरहेको छ, राज्य संयन्त्रलाई दुरुपयोग गरेर, जनताको आक्रोश बढ्दै जाँदा यो टिक्नै सक्दैन, ढल्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्